चिकित्सक कुट्नेलाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

author
0 minutes, 0 seconds Read

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्।

नेपाल चिकित्सक संघको ज्ञापन पत्र बिहीबार बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताए।

संघले बिहीबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सकमाथि आक्रमण भएकोले कारबाहीको मागसहित ज्ञापन पत्र बुझाएको थियो।

भदौ २७ गते हेटौंडामा चिकित्सकमाथि आक्रमण भएको थियो।

‘प्रधानमन्त्रीलाई भेटेर हेटौंडा घटनामा सम्मिलित सबै दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ,’ नेपाल चिकित्सक संघले भनेको छ, ‘प्रधानमन्त्रीले दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

यो पनि: हेटौंडामा कुटिएका डाक्टर भन्छन्- एसपीकै अगाडि काट्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ?

चिकित्सक संघले विज्ञप्ति निकालेर डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौंडामा आक्रमण भएको उल्लेख गरेको थियो।

बिरामीहरूलाई उपचार गराइरहेको अवस्थामा थापा र विडारीमाथि आक्रमण भएको नेपाल चिकित्सक संघको भनाइ छ। चिकित्सक संघले घटनाका दोषीमाथि कारबाही गर्न मागसमेत गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए।

यस्तो छ चिकित्सक संघको विज्ञप्ति:

377558916_697358665750288_7205892749317523857_n-1694689662.jpg शाभार सेतोपाटी डटकम बाट

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *