किन बन्न सकेन हामीले खोजे जस्तो नेपाल ?

 

केही अनिष्ट हुनुअघि राजनीतिक दलहरूले नागरिकसँग संवाद थालून् । समाजलाई अराजकताले गाँज्नुअगाडि नै जिम्मेवार बनून् । युवा पिँढीलाई विरासत हस्तान्तरण गर्नमा धेरै ढिलाइ नगरून् ।

२०७० माघ २५ गते (हाल दिवंगत) पत्रकार सुशील शर्माले कान्तिपुर दैनिकमा ‘नेपाल किन बनेन ?’ शीर्षक लेख लेखेका थिए र आजसम्म यो विषयबारे बहस चलिरहेकै छ केही दिनअगाडि मैले जापानका प्रख्यात मांगा आर्टिस्ट ओदा एई चिरोले बनाएको नेटफ्लिक्सको ‘वन पिस’ वेब सिरिज हेरेँ । त्यो हेरेपछि शर्माको उक्त लेख र त्यसपछिको शृंखलाबद्ध बहसको याद आयो । ‘वन पिस’ मा एउटा संवाद छ, जसको आशय अब युवाहरूको पालो हो, हामीले उनीहरूलाई ठाउँ दिनुपर्छ भन्ने छ । युवाहरूलाई अगाडि बढाएको दृश्य पनि छ । समुद्री डाँकाको कथामा बनेको ‘वन पिस’ मा युवाहरूले आफ्नो लडाइँ आफैँ लड्न सक्ने आत्मविश्वास प्रदर्शन गरेका र आफ्नो सपना पनि पूरा गर्न पाएका दृश्यहरू रमाइला र आशावादी लाग्छन् ।

यो सिरिज हेरेपछि, मैले हाम्रो देशमा भइरहेका कुराहरू सम्झेँ । वर्षौंदेखि तिनै व्यक्ति दोहोरिई–दोहोरिई सत्तामा पुगेका छन्, तर नागरिकलाई खास के चाहिएको छ, कहिल्यै बुझेका छैनन् । हाम्रा सपना, हाम्रा चाहनाहरू के हुन् ? उनीहरूलाई मतलब नै छैन । हामीलाई कस्तो देश चाहिएको हो ? उनीहरूले हामी झन्डै ३ करोड नागरिकले सामूहिक रूपमा कस्तो देश चाहन्छौँ, बुझेकै छैनन्, न त उनीहरू हामीसँग आवश्यक संवाद नै गर्छन् । उनीहरू आउँछन्, अनेक रटान लगाउँछन्, आआफ्नो धन्दा चलाउँछन्, जान्छन् । तर कसैले पनि आफ्नो स्पष्ट मार्गचित्र बताउन सक्दैनन् । आफूले पनि केही गर्न सक्दैनन् र युवा पुस्तालाई देशको जिम्मेवारी हस्तान्तरण गर्न पनि चाहँदैनन् । उनीहरू त्यही ठाउँमा अड्किएर बसिरहन र हामीलाई पनि अड्काउन चाहन्छन्, ‘वन पिस’ सिरिजमा भन्दा ठ्याक्कै उल्टो, जसले गर्दा हाम्रो जीवन निराशाजनक भएको छ ।

२०७९ सालको आम चुनावबाट उदाएका नयाँ जनप्रतिनिधिहरूले सुरुमा थोरै आशा नजगाएका होइनन्, तर सुरुआत नै निराशाको रटान लगाएर भएको उनीहरूको यात्रा अहिलेसम्म खासै आशाजनक हुन सकेको छैन । हेर्दा नयाँ टल्किने रेडियो तर बज्ने कर्कश धुन उही पुरानै । ‘धन ठूलो कि विद्या ?’ प्रवृत्तिका वक्तृत्वकला प्रतियोगितामा कण्ठस्थ सुनाइने उक्तिहरूजस्ता पट्यारलाग्दा वक्तव्यबाजी । ‘पुरानाले दिएका निराशाको गायन’ सुनाएर बहकाउन खोज्नेहरूलाई पनि हामीलाई खासमा के चाहिएको छ भनी सोध्ने फुर्सद छैन । देशलाई यस्तो बनाउँछु, उस्तो बनाउँछु भन्ने खालका नयाँ संस्करणका भाषण मात्र बजारमा आएका छन् । उनीहरूभन्दा अगाडिका हरेकले समेत देश बनाउँछु नै भनेका थिए र अझै पनि थाकेका छैनन् । कहिले सिंगापुर जस्तो बनाउने भन्न भ्याए, कहिले स्विट्जरल्यान्ड जस्तो बनाउने भने ।

देश खासमा कस्तो बनाउने ? यो विषयमा हामीले राम्ररी संवाद नै गरेका छैनौँ । अब आउनेहरूले के भन्ने हो ? पहिलाकाले के भनिरहेका छन् ? यी प्रश्नहरूमा हाम्रो समाज नै प्रवेश गरेन । देश बनाउँछु भनेर यत्रो वर्ष सत्तामा बस्नेहरूले उनीहरूका अग्रजहरूले दिएको ‘एक्सन प्लान’ मा काम नै गरेनन् । बीपी कोइराला र मदन भण्डारी जस्ता राजनेताले छोडेर गएको नेपाली राजनीतिको रहरलाग्दो विरासतको मूल्य नै बुझ्न सकेनन् ।

हामीले हाम्रो मत लिएर जानेहरूलाई प्रश्नहरूले र्‍याखर्‍याख्ती पार्न सकेनौँ । देश बनाउँछु भन्नेहरूलाई सबैले सोध्नैपर्छ, कस्तो देश बनाउनुहुन्छ भनेर ? प्रहरी–प्रशासनको रोकटोकबिना राति दुई बजेसम्म बिनाहिचकिचाहट काम गर्न चाहने अहिलेको पुस्तालाई देश कस्तो बनाउँछु भन्नुहुन्छ ? हामीलाई अर्थोपार्जन गर्ने स्वतन्त्रता चाहिएको छ । मलाई आफ्नै खुट्टामा उभिन मन छ । व्याख्या पुग्यो अब, कार्यक्रमको आवश्यकता छ । सपना देखाएर पुग्यो, अब कार्यदिशा चाहियो । कसरी र कहिले भन्ने गम्भीर योजना ?

हामी आज जुन प्रणालीमा छौँ, त्यसमा हामीले नै भन्ने हो— देश कस्तो बनाउने; अमुक दलले एकोहोरो रट्टा लगाउने होइन । राजनीतिक दलहरूले त हामीले चाहेको कुरा बुझेर आआफ्ना घोषणापत्रमा देश बनाउने ठोस नीति र कार्यक्रम राख्ने हो ।

हामी कस्तो देशमा बस्न चाहन्छौँ ? सबैका बारेमा त म भन्न सक्दिनँ, तर मलाई समानता चाहिएको छ, आत्मसम्मान चाहिएको छ । हामीलाई बहकाउमा आउने स्वाभिमान होइन, अभिमान त्याग्न सक्ने स्वाभिमान चाहिएको छ । हामीलाई नवप्रवर्तन (इनोभेसन) चाहिएको छ, कार्यदक्षता (एफिसियन्सी) चाहिएको छ । कोसँग छ हाम्रो कार्यदक्षता कसरी बढाउने भन्ने योजना ? हामीलाई स्वतन्त्र र न्यायपूर्ण प्रजातन्त्रको बाटोमा हिँड्नु छ । हामी देशभित्र आर्थिक स्वतन्त्रताको अन्वेषण गर्न चाहन्छौँ । हामीले हरेक पटक मतदान गर्ने पनि त्यस्तै देश बनाउनका लागि हो ।

 

हामीलाई प्रजातन्त्र चाहिएको छ, असली अर्थमा । नागरिकलाई आक्रोशित मात्र बनाउने राजनीतिक दलहरूभन्दा प्रश्न गर्न सिकाउने बलिया संस्थाहरूको खाँचो छ । नागरिकको आवाज बिनापूर्वाग्रह बलियोसँग उठाउन सक्ने नागरिक समाज चाहिएको छ । ‘हामीलाई हामीले चाहेको जस्तो देशमा मर्यादित जीवन बाँच्न पाउने पूरापूर अधिकार छ’ भन्ने कुरा बोलिदिनेहरूकै अभाव छ, अहिले पनि । यसका लागि संवादका सबै सम्भावनाको खोजी गर्नुपर्छ । हामीकहाँ नागरिकलाई सही सूचना दिने, नागरिकबाट सही सूचना लिने, प्रश्नलाई ठाउँमा पुर्‍याउन पर्याप्त दबाब दिने, अभियान सञ्चालन गर्ने र जनहितमा काम गर्ने पर्याप्त संस्थाहरूको जरुरत छ ।

पुराना दलहरूले सञ्चालनको तौरतरिकालाई आधुनिकीकरण गर्दै, प्रचारबाजीमा मात्र होइन, प्रक्रिया र कार्यक्रमहरूमार्फत आफू नयाँ पिँढीहरूलाई देश हस्तान्तरण गर्न तयार भएको अनुभूति गराउन सक्नुपर्छ । जसले देश बनाउँछु भन्दै आएका छन्, उनीहरूले गरेको देशको कल्पना कस्तो हो ? जसले देश बनाउँछु भनेर माखो मार्न सकेका छैनन्, उनीहरू अब प्रश्नको सामना गर्न तयार हुनुपर्छ । नयाँहरू पनि जवाफदेह हुनुपर्छ । उनीहरूलाई पनि प्रश्न गर्न पाउने नेपाल बनाउने कि नपाउने ? नपाउने भए किन नपाउने ? हामी नागरिक — प्रजातन्त्रमा जसको कामै प्रश्न गर्ने हो — ले प्रश्न गर्न किन नपाउने ? यस्ता प्रश्नहरू हामीले नागरिकको स्तरबाट गर्न सुरु गर्नुपर्छ । हामीले हाम्रा कुरा सुनाउन पाउनुपर्छ । नागरिकका प्रश्नहरूलाई उत्तर दिने मञ्चहरू निर्माण गरेर, प्रविधि प्रयोग गरेर, सम्भव भएका सबै उपाय अपनाएर संवादको वातावरण बनाउनुपर्छ । अब पनि यदि सीधै नागरिकसँग संवाद नगर्ने हो भने, उनीहरूका समस्याको सम्बोधन नगर्ने हो भने जनआक्रोश थेग्न गाह्रो पर्नेछ । त्यसलाई कोही व्यक्ति वा शक्तिले प्रयोग गर्न सक्छ; नागरिकमा उत्तेजना बढाउन, विभाजन ल्याउन, शक्तिको महत्त्वाकांक्षा पूरा गर्न र शक्तिमा आफूबाहेक अर्को कोही पुग्न नसकोस् भनेर सुनिश्चित गर्ने शैलीमा उदाउन पनि सक्छ । अहिले हाम्रो राजनीतिमा व्याप्त डर यही हो । दलहरू यो कुरा बुझेर आफैँले ल्याएको प्रणाली हो भन्दै ढुक्क भएर बसिरहनुभन्दा सुधारिनु राम्रो हुनेछ ।

नागरिकमा आक्रोश कतिसम्म छ भने ‘सिंहदरबार जलाउने’ खुल्लमखुला धम्कीलाई समेत चर्को स्वरमा समर्थन गरिरहेका छन् । केही अनिष्ट हुनुअघि राजनीतिक दलहरूले नागरिकसँग संवाद थालून् । समाजलाई अराजकताले गाँज्नुअगाडि नै जिम्मेवार बनून् । युवा पिँढीलाई विरासत हस्तान्तरण गर्नमा धेरै ढिलाइ नगरून् । यस्तो अवस्था नआओस् कि, दलहरूसँग बिच्किएका नागरिकले आवेगमा आएर प्रजातान्त्रिक संस्कार र यो प्रणालीलाई कत्ति पनि स्वीकार र सम्मान नगर्ने व्यक्तिहरूलाई देशको शासनसत्तामा पुग्ने गरी मत दिऊन् । हाम्रो संविधानलाई अपव्याख्या गर्ने तानाशाहहरूको जन्म हुन नपाओस् । त्यस्तो भएको दिन देशमा बस्नकै लागि आफ्नो प्रश्न गर्ने अधिकारमाथि सम्झौता गर्नुपर्ने हुन सक्छ, वाक् र अन्य धेरै स्वतन्त्रता हरण भएको निरीह भएर हेर्नुपर्ने हुन सक्छ । कतै स्थापित दलहरूको अहिलेको अकर्मण्यताको मूल्य हाम्रो पुस्तालाई महँगो नपरोस् । साथै, बेलैमा ‘वन पिस’ सिरिजमा जहाज हाँक्न युवाहरूलाई विश्वास गरिएको जस्तै हामीकहाँ पनि देश हाँक्न राजनीतिक संस्कारबाट दीक्षित र प्रशिक्षित युवाहरूलाई विश्वास गरियोस् । र, हामीले चाहेको जस्तो देशमा हामीले चाहेको जस्तै मर्यादित जीवन बाँच्न पाइयोस् । शाभार:https://ekantipur.com/  बाट

सिभिल तथा वातावरण इन्जिनियरिङका स्नातक गौतम नेपाली कांग्रेसका प्रचार विभाग सदस्य हुन् ।