६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए आयोजना उद्घाटन हुँदै

लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो पुग्ने विश्वास छ । यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्नेछ ।

यस आयोजनाले मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत योगदान दिनेछ । यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्नेछ ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड रुपैयाँ (निर्माण अवधिको व्याजबाहेक) थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ ।

चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा निर्माण भएको हो ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछि आएको बाढीपहिरोले झनै प्रभावित पारेको थियो । भूकम्प र पहिरोले आयोजनाको बाँधको दायाँ-बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयका आधारमा पहिरोको रोकथाम तथा सडक मर्मतको जिम्मा नेपाली सेनाले पाएको थियो । यसका लागि ६१ करोड १९ लाख रुपैयाँ थप खर्च भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । आयोजनाले स्जियार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाँडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाँडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

आयोजनाकै खर्चबाट निर्माण गरिएको प्रसारण लाइनबाट त्रिशूली र मर्स्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ । प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो ।

सुरु सम्झौताअनुसार १७ जेठ २०७१ अर्थात् ३१ मे २०१४ नै यो आयोजना सम्पन्न हुन पर्ने थियो । विद्युतगृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णय लगायतका कारणले निर्माण प्रभावित भएको थियो । त्यसपछि आयोजनाको म्याद दुई वर्ष थपेर ३० जुन २०१६ भित्रमा सक्ने लक्ष्य राखिएको थियो ।

विनाशकारी भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति उत्पन्न भएपछि म्याद फेरि तीन वर्ष थपेर र ३० अप्रिल २०१९ भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण पछिल्लो पल्ट थपिएकै समयमा सम्पन्न भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0