आत्मकेन्द्रित नेता र लोकतन्त्र

नेता धेरै प्रकारका हुन्छन् । प्रत्येकले जन्मदेखि नै स्वभाव लिएर आउँछन् र केही मात्रामा शिक्षा र पारिवारिक परिवेशले पनि स्वभाव निर्धारण गर्न सक्छन् । त्यसैले एकै घर र परिवेशमा धुन्धुकारिदेखि अति विवेकशील व्यक्तिसम्म देखिन्छन् । राजनीतिमा नेताका यी दुवै खाले गुण (सकारात्मक र नकारात्मक) पाइन्छन् ।

नेता आत्मकेन्द्रित, सनकी, लहडी, गफाडी, चटकी, अति महत्त्वाकांक्षीदेखि लिएर जनमुखी, विवेकी, दूरगामी सोच राख्नेसम्म पर्छन् । पछिल्लो समूहका नेता अति थोरै हुन्छन् र अन्याय र अत्याचारविरुद्ध लड्न अरूलाई उत्साहित पार्छन् । यस्तो काम गर्ने नेतालाई परिवर्तनकारी या क्रान्तिकारी मानिन्छ । शक्ति आर्जन गरे पनि यसलाई राष्ट्र र जनहितमा लगाउनुपर्नेमा तिनले जोड दिन्छन् । जस्तोसुकै परिवारका भए पनि उनीहरू जनकल्याणको उद्देश्य लिएर राजनीतिमा लागेका हुन्छन् ।आत्मकेन्द्रित नेताका लक्षण हुन्— आफैं मात्र ठीक र अरू बेठीक ठान्ने, आफैंले रचेको काल्पनिक संसारको सेरोफेरोमा घुम्ने, अरूको कुरा नसुन्ने । राष्ट्रपति ट्रम्प आजका सन्दर्भमा पहिलो नम्बरमा पर्छन् भने, प्रधानमन्त्री ओलीका केही काम गर्ने शैली र लक्षण पनि केही मात्रामा हठी स्वभावका छन् । प्रतिरक्षा गर्नै नसकिने निर्णयका लागि उनी आफैं मात्र ठीक भन्ने मानसिकताले पीडित देखिन्छन् । संसद् विघटनका सिलसिलामा आफू संसद्मा ६४ प्रतिशत समर्थन भएको नेता रहेको भनी तर्क गर्छन् तर संसद् छली नयाँ जनमत लिन चुनावमा जाने वकालत गर्छन् । आफ्नै दलले काम गर्न नदिएको भन्दै संविधानको अक्षर र भावनाविपरीत अघि बढ्छन् । कतिसम्म भने, आज नेपाललाई बाहिर चिनाउने एक मात्र नेता आफू भएको घोषणा गर्नमा उनी अलिकति पनि लज्जाबोध गर्दैनन् ।

यस्ता नेताको चिन्तन र शैलीको कुरा उठ्ता मलाई आफूले आईएमा पढेको पुस्तक ‘डन क्विजोट’ को याद आउँछ । डन क्विजोट एक पात्र हो, जो काल्पनिक शत्रु देख्दै लडाइँ गर्न सुर्रिन्छ र उसलाई सहायक स्यान्जोपान्जाले समर्थन गर्छ । ट्रम्पले पनि आफूविपरीत आएका सबै मतलाई फर्जी देखी, आफूलाई चुनावमा हराएको ठानी, धुन्धुकारि स्वभाव प्रदर्शित गरी अमेरिकाको हुर्मत लिने कामका लागि नन्दीभृंगीलाई उत्तेजित गरेर कंग्रेस (संसद्) मा हमला गराउँछन् । त्यस्तो व्यक्तिलाई सबैभन्दा पुरानो दल (जीओपी) का कतिपय संसद्् र अन्य नेताले समर्थन गर्छन् । कंग्रेसमा हमलापछि तिनै नेताको चेत फर्की यसको भर्त्सना गर्छन् र लोकतान्त्रिक प्रणालीलाई बचाउँछन् ।

कामचलाउ प्रधानमन्त्री ओली पनि ‘मै सर्वेसर्वा नेता’ र ‘मेरो निर्णय बदलिन नसक्ने’ भन्दै अदालतमा विचाराधीन संसद् विघटनको मुद्दालाई बेवास्ता गर्दै कुनै पनि हालतमा संसद् बिउँतिन नसक्ने जिकिर गर्छन् । तर उनको असंवैधानिक कदमका पक्षमा वकालत गर्ने, समर्थन जनाउने उनका अघिपछिका व्यक्ति र कार्यकर्ताबाहेक अरू देखिँदैनन् । उनको बोलीमा अब धेरै अहंकार र अतिशयोक्ति देखिन थालेको छ, तथ्यमा आधारितभन्दा बढी आफैं मपाईं भएको पाइन्छ । तर खुसीको कुरा के छ भने, अब चेतनशील जनता के ठीक र के बेठीक छुट्याउन सक्षम भएका छन् । अब कामका आधारमा राजनीतिकर्मीको मूल्यांकन हुन थालेको छ । उनीहरू संविधानसम्मत व्यवस्था र सक्षम सरकार खोज्छन् तर सरकार भ्रष्ट र कमजोर बन्दा यसको विकल्प खोज्छन्, जुन लोकतान्त्रिक व्यवस्थाको सकारात्मक पक्ष हो ।
पुस २९, २०७७ लोकराज बराल द्धारा लिखित कान्तिपुर दैनिकमा प्रकाशित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0