प्रचण्ड-माधवलाई खुलापत्र


आदरणीय नेतज्यूहरु,
मध्य हिउँदको बिहानी पखको कठ्याङ्ग्रिदो चिसोमा म माइतीघर मण्डला छेउको सडकपेटीमा हिड्दै थिएँ। यसो भन्दै गर्दा यो नठान्नु होला कि नयाँ संविधान लागु पश्चात देशमा हुर्कदै गरेको शिशु लोकतन्त्रको घाँटीमा सनक चढेको एउटा भौज्याहा शासकले अठ्याइरहेको देखेर आक्रोशित भएको युवा विरोधको लागि सडकमा उत्रियो।

वास्तविकता यो हो कि रसायनशास्त्रमा डिग्री हासिल गरेको म राजधानीको एउटा निजी कलेजमा अध्यापन गराउँथेँ। गत वर्षदेखि फैलिएको कोभिडको नाममा पेशाबाट हटाइएपछि बेरोजगार बनेको म स्वदेशमा आफ्नो वर्तमान नै तत्कालका लागि सुरक्षित देख्न नसक्दा छट्पटिरहेको थिएँ।

यही बेलामा एक व्यक्तिले परदेशमा राम्रो कमाइ हुने आश्वासन दिएकोले उनलाई भेट्न सकेसम्म लामा पाइला चाल्दै थिएँ। तर माइतीघर सडकको दृश्यले मेरा पाइलाहरु रोकिए। मेरा नजर केही सय मानिसको बीचाम सडकमा पलेटी मारेर बसेका तपाईंहरुमा ठोक्किन पुगे।

आम मानिसले कुनै समय आशा गरेका नेतृत्वहरुलाई परिवर्तित अवस्थामा त्यसरी देख्दा मेरो टाउको वरिपरि अनेक प्रश्नहरु उव्जन थाले। म तिनै प्रश्नहरु मनमा खेलाउँदै आफ्नो गन्तव्यतिर लागेँ। तर आँखा अगाडि मुलुकको अन्धकार भविष्य मडारिदै गर्दा मन निकै उद्धेलित भयो र तपाईंहरुको नाममा प्रत्र लेख्ने चेस्टा गरेँ।

नेताज्यूहरु, तपाईंहरुलाई सडकमा बसेको देख्दै गर्दा डेढ दशक अघिको एउटा चित्र मानसपटलमा ताजा बनेर आयो। २०६१ को फगुन महिनातिर, जुन बेलामा म कक्षा आठ तिर पढ्दै थिएँ, मेरो हातमा एउटा दैनिक पत्रिका परेको थियो। त्यो पत्रिकाको अघिल्लो पृष्ठको रंगीन तस्बिरले मेरो किशोर मनलाई निकै आकर्षित गर्यो।

त्यो तस्बिरमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता ‘कू’ गरेको विरोधमा नेपाली कांग्रेसका तत्कालीन सभापति वयोवृद्ध नेता गिरिजाप्रसाद कोइरला सडकमा बस्नु भएको थियो। उहाँसँगै हुनुहुन्थ्यो तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल जो आज प्रचण्डसँग बसे जस्तैगरी बसिरहनु भएको थियो।

त्यो पत्रिकालाई मैले जतनसाथ आफ्नो कोठाको लिउन उप्किएको भित्तामा टाँसेँ। म हरेक साँझ भित्ताको त्यै तस्बिर हेर्दै राजनीतिको बारेमा सोच्थेँ। सेच्दा सोच्दै नजिकै पाखा तिर पड्के जस्तो बिस्फोटको भयानक आवाज आउँथ्यो, म हतपत्त पातलो ओड्ने भित्र आफूलाई लुकाउँथेँ।नेताज्यूहरु, त्यो समयदेखि आजसम्मको पन्ध्र वर्षभन्दा बढी अवधिमा राज्यमा के कति परिवर्तन आए, त्यो सबैको साक्षी तपाईंहरु बस्नु भएको सडक छ। जुन सडकले जनआन्दोलन भोगेको छ। मोफसलको जनयुद्ध देखेको छ। जनयुद्धलाई अवतरण गर्ने मैदान बनेको छ।

जनआन्दोलन र जनयुद्धको शान्तिपूर्ण अवतरण पश्चात देशमा जनताको शासन व्यवस्था आउने, समानतामूलक विकाससँगै समृद्ध देशको नागरिक बन्ने आम मानिसका सपनासँगै यो मुस्कुराएको छ। समयक्रमसँगै जनताका सपना कसरी र कस्का कारण गिजोलिए र आजको नैराश्यतामा देश पुग्यो भन्ने बरेमा जानकार त्यो सडकभन्दा अरु को होला? र यी सबैको न्यायोचित विश्लेषण इतिहासले गर्ला।

नेताज्यूहरु, देशको एउटा युवा नागरिकको हैसियतमा मैले पनि केही अनुभव गरेको छु। विशेषतः यो समय बीचको नेपालको राजनीतिको केन्द्रबिन्दुमा रहेका कमरेड प्रचण्डलाई म भन्न चाहान्छु- कमरेड! तपाईं कुन रुपमा समाजमा उदाएर आज कुन अवस्थामा हुनुहुन्छ? तपाईंले आफ्नो विश्लेषण आफैले गर्ने समय पाउनु भएको छ?

मैले बुझे अनुसार हिजो जनयुद्धको अवतरणकालमा भुईंमान्छेहरुले तपाईलाई आफ्नो असली नेता देख्थे भने यथास्थितिवादीहरु बाघको रुपमा तर्सन्थे। तर वर्तमानमा आम मानिसहरु तपाईं र एउटा परम्परागत बुर्जुवा नेतामा अलिकति पनि फरक देख्दैनन्, तपाईंले भन्ने गरेका प्रतिक्रियावदीहरुले तपाईंलाई अब भुसुना बराबर पनि गन्दैनन्।

हिजो तपाईंको शब्दले मात्र देश हल्लन्थ्यो तर आज तपाईं जति लामो भाषण गर्नुस्, त्यस्ले कुनै माने राख्दैन। समग्रमा भन्नुपर्दा आम मानिसको नजरमा तपाईंको राजनीतिक जीवन एउटा नाटकको पटाक्षेप जस्तो लाग्छ। हिजो जुन व्यवस्थाको बिरुद्ध तपाईंले गरिब जनताका छोराछारीलाई बन्दुक बोक्न र सहिद बन्न प्रेरित गर्नु भएको थियो, आज त्यही व्यवस्था थाम्नको लागि जनतासँग गुहार मागिरहनु भएको छ।

वास्तवमै समय निकै बद्लिसकेको छ। पटक-पटक सपनामाथि धोका र कुठाराघात हुँदा आम मानिसहरुमा दिक्दारी व्याप्त छ। देश भ्रष्टचारले पूर्ण त खोक्रो पारेको छ। बेवारिस पारेर छोडिएका विकासका आयोजनाहरुले देशको कुरुपता झल्काउछ। देशका अर्थतन्त्र र सामाजिक संरचना अस्तव्यस्त अवस्थामा छ।

जनतामा राज्य संयन्त्रप्रति रत्तिभर विश्वास छैन। कुनै पनि राजनीतिक पार्टी र नेता प्रति आशा–भरोसा गर्ने आधार बाँकी छैन। तपाईंहरुले महशुस गर्नु भयो कि भएन, आम मानिसहरु आज तपाईंहरुलाई टिठ लाग्दो गरी हेरिरहेका छन् र प्रश्न गरिरहेका छन्- आखिर केका लागि तपाईंहरु सडकमा? संसद् पुनर्स्थापना गरेर तपाईंहरुलाई मन्त्री प्रधानमन्त्री बनाउनका लागि? खड्ग ओलीले तपाईहरुमाथि गरेको व्यक्तिगत अपमानको तुष्टि पूरा गरिदिनको लागि?

अनि प्रचण्ड कमरेड, तपाईंले नोट अफ डिसेन्ट लेखेको ससंदिय व्यवस्थाको आवरणमा चलिरहेको जनता नचिन्ने दलालतन्त्रको निरन्तरता थामिदिनको लागि? तत्पश्चात फेरि दोहोरिने तपाईंहरुको सत्ता र कुर्सीको लुछाचुँडीको रमिते बन्नका लागि?

तर नेताज्यूहरु, तपाईंहरुलाई जति गाली गरेपनि वर्तमान सत्य यै हो, आज मुलुक फेरि राजनीतिको गम्भीर मोडमा आइपुगको छ। आजको स्थितिले भन्छ नेपाली जनताले जुन व्यवस्था परिवर्तनका लगि आन्दोलन र युद्धमा रगत बगाएका थिए, त्यो आन्दोलनले शासकको अनुहार त परिवर्तन गर्यो तर परम्परागत परिपाटी र सत्ताको पर्खालको सानो कण पनि टुटाउन सकेनछ।

राजनीतिक चेतको विस्तारमा आजसम्मका नेपाली क्रान्तिले खेलेको भूमिकालाई नजरअन्दाज गर्न नसकिए पनि आम समाजमा जागरण ल्याएर आधुनिक तर मौलिक विकासको बाटोमा मुलुकलाई अग्रगमन तर्फ लाने सवालमा भने सफलता हासिल गर्न सकेनछ। अझ यसो भन्दा उचित होला– जनताले आशा गरेका आन्दोलन र युद्धका तपाईंहरुजस्ता नेतृत्वकर्ताहरुले प्रतिगमनकारीहरुको घेरा बन्दीमा परेर हो वा आफ्नै स्वार्थ सिद्ध गर्नको लागि हो, कालन्तरमा जनताको भरोसा माथि थोका दिए।

गरिब जनताको झुपडीबाट रातारात पुँजीपतिहरुको महलमा डेरा सरे। जनताका सपनाहरु पटक पटक गिजोले। मुट्ठीभरका दलालहरुको हित गर्दै त्यसैलाई विकास हो भन्दै भाषण दिरहे। र आज फेरि इतिहासको कुरुप नाटकको पुनरावृत्ति भोग्नु पर्ने स्थितिमा देशलाई पुर्याए।

दशकको अत्यासलाग्दो सङ्क्रमणकाल, भयानक प्राकृतिक विपत्ती र छिमेकीको अमानवीय नाकाबन्दी सहदै संविधान लागु भएपछि आम चुनावताकाको बाम गठबन्धनले जगाएको स्थायीत्व र समृद्ध नेपालको सपना माथि कुठाराघात गर्दै प्रधानमन्त्रीले गलत बाटोतर्फ कदम चाले। लोकतान्त्रिक मूल्यमान्यता विपरित उनले सुरु गरेको यात्राले मुलुकलाई कहाँ पुर्याउछ, कुनै अनुमान गर्न कठिन छ।

तर यति भन्न सकिन्छ, नेपालमा जो शासक जनचाहाना विपरित निरङ्कुशता र स्वेच्छाचारिताको बाटो हिड्ने दुस्साहस गर्छन्, त्यो शासकको पतन निकै दुखदाइ हुन्छ। तर त्यो बीचमा राष्ट्रले कस्तो नियतिको सामना गर्ला र समाजमा कस्तो खालको दूर्गामी असर पुर्याउला भन्ने महत्वपूर्ण हुन आउँछ। र एउटा सचेत नागरिक यो बारेमा चनाखो बन्नै पर्छ।

नेताज्यूहरु, बन्दुकको नालबाट गोली त निस्किसक्यो। अब यस्लाई फर्काउन न्यायलयको झिनो आश त अझै छ। तर पर्दा पछडि कुन खेल चल्दै छ, थाहा छैन। तत्कालै संसद पुनर्स्थापना भए पनि देशमा अस्थिरताको विजारेपण भैसकेको छ। राजनीतिक ध्रुवीकरण तीव्ररुपमा अघि बढिरहेको छ।

नागरिक समाज र बौद्धिक तप्का लोकतन्त्रको रक्षाको लागि सडकमा ओर्लिएको छ। आन्तरिक तथा बाह्य स्वार्थ समूहको सलबलाहट सुरु भैसकेको छ। प्रत्येक दश वर्षपछि नेपालमा राजनीतिक उथलपुथल हुन्छ भन्ने भनाइको चरितार्थ पूरा हुने बाटोमा मुलुक अघि बढ्दै गरेको छनक मिल्छ। र म देशको अवस्थाप्रति चिन्तित हुने एक युवाको नाताले यो देशमा फेरि एउटा जागरणपूर्ण क्रान्तिको जरुरी भएको मत राख्दछ।

यथास्थतिको निरन्तरता भंग गरे, पुरातनवादी शैली र चिन्तनलाई उखेलेर नवीन विचार र प्रणलीको विकास गरेर जनताले अपनत्व लिन सक्ने लोकतान्त्रिक व्यवस्था स्थापना गर्न यस्को आवश्यकता टड्कारो दखिन्छ। यसो भन्दै गर्दा यो अभियानको नेतृत्व कस्ले गर्छ भन्ने सवाल अगाडि देखा पर्छ।

कुनै पनि क्रान्तिको नेतृत्व संघर्षका कठिन चरण पार गर्दै स्थापित हुन्छ। तर अहिलेको अवस्थामा परिवर्तनको लागि नयाँ र आशा लाग्दो नेतृत्व नेपाली समाजमा देखा परेको अवस्था छैन न त अहिलेका पार्टी र तपाईंहरु जस्ता नेताप्रति जनताको थोरै मात्र विश्वास छ। आजको विषम् परिस्थितिमा तपाईंहरु सडकमा आईपुग्नु भएको छ र तपाईंहरुतिर माहोल ढल्किए जस्तो देखिन्छ।

तर सत्य यै हो, तपाईंहरु जनता र देशको लागि सडकमा आएको हैन, तपाईंहरु त कुर्सी र पदको झगडामा प्रधानमन्त्री ओलीको मूर्ख्याइँको कारण सडकमा पछारिएको हो। उहाँ गलत बाटो लाग्दै गर्दा तपाईंहरुले लोकतन्त्र र संविधानको पक्षमा भाषण गर्ने सुविधा पाएको मात्र हो।

नेतज्यूहरु, तैपनि समयले अनवरत रुपमा राजनीतिमा लागिपरिरहेका नेतृत्वलाई पुनः मौका दिने गरेको इतिहास छ। उदाहरणको लागि, हिजो पचासको दशकमा आलोचित पात्र स्वर्गिय गिरिजाप्रसाद कोइरालाले ६२–६३ मा अवसर पाउनु भयो र त्यस्लाई सदुपयोग गरेर इतिहासमा नाम लेखाउनु भयो।

के त्यसैगरी तपाईहरुले अब फेरि नवीन क्रान्तिको नेतृत्व गर्न सक्नुहुन्छ? जुन क्रान्ति तपाईंहरुले विगतमा नेतृत्व गरेको शासकमात्र फेर्ने रक्तपातपूर्ण जनयुद्ध र सडक आन्दोलनभन्दा भिन्न किसिमको हुन्छ। के नेता हुनुको करिश्मा खुइलिसकेको तपाईंहरुले राजनीतिदेखि बिरक्तिएर समाजको गर्भमा हराएको जनताको क्रान्तिकारी चेतलाई पुनर्जीवन दिन सक्नुहुन्छ?

के तपाईंहरुले तपाईंका पार्टीभित्र भएका इमान्दार र बौद्धिक नेताहरुलाई परिचालन गरेर समाज परिवर्तनको नयाँ विचार निर्माण गर्न सक्नुहुन्छ? के तपाईंहरु भाषण गरे जस्तै देशलाई खोक्रो पार्ने दलालहरुको नेक्ससबाट आफू र पार्टीलाई अलग गरेर दिगो योजना सहित जनताको घर आँगनमा फेरि फर्कने हिम्मत गर्न सक्नुहुन्छ?

के जनता र तपाईंहरु बीच टुटेको नातालाई फेरि जोड्न सक्नुहुन्छ? र सबैभन्दा महत्वपूर्ण कुरा, तपाईंहरुले जनताको नजरमा कसरी विश्वास हासिल गर्न सक्नुहुन्छ? अवस्था तपाईंहरुले सोचेजस्तो सजिलो छैन। तपाईंहरुले एक अर्का प्रति गर्दै हिडेको पट्यारलागदो आरोप प्रत्यारोपले आम मानिसको बीचमा कुनै अर्थ राख्दैन।

तपाईंहरु केवल सत्ता प्रप्ति र यथास्थितिको निरन्तरताको लागि मात्र सडक र जनताको बीचमा जाँदै हुनुहुन्छ भने त्यो जनताको चाहनाभन्दा परको कुरा हुन्छ। विचार गर्नुहोला, जनतालाई कस्ले संविधानको कुन धारामाथि अतिक्रमण गर्यो, को निरङ्कुश बन्न गयो भन्नेसँग सरोकार हुँदैन। हुन्छ त कस्ले जनताको लागि काम गर्छ, कस्ले जनताको दैनिक रोजीरोटी प्रप्तिको सहज माध्यामको विकास गर्छ, कस्ले संमृद्ध देशको स्वभिमानी नागरिक बनाउने दिशामा इमान्दारपूर्वक काम गर्छ।

अन्तमा यति भन्न चाहान्छु, देशले यथास्थितिको पुनरावृत्ति होइन, परिवर्तन चाहेको छ। अस्तव्यस्तता बीचबाट निस्कने तानाशाहा होइन, जनपक्षीय लोकतन्त्रलाई बलियो बनाउने राजनेता खोजेको छ। समाजको चेतनालाई माथि उठाउने विचार जन्माउने विचारकको खाँचो छ।

आधुनिक तर मौलिक विकासको अभियानको सुरुआत गर्ने दूरदर्शिता भएको अभियान्ताको पर्खाइ छ। के तपाईंहरुमा त्यो क्षमता र साहास बाँकी छ? छ भने समयले तपाईंहरुलाई अवसर दिएको छ। यो अवसरको सदुपयोग गर्न सक्नु भएन भने पक्कै समाजको अन्तरसंघर्षबाट नयाँ नेतृत्व जन्मने छ र तपाईंहरुलाई विस्थापन गर्नेछ।प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७,Source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0