…अनि म विदेश गइनँ

यता कोल्टे फेरेँ। उता कोल्टे फेरेँ। लाख कोशिस गरेँ, निदाउन सकिनँ। तर तिमी फुसुफुसु निदाइरह्यौ। म निकै रफ्तारमा आफ्नो कपडा मिलाएर, अघिल्लो दिनमै तयार पारेको रातो सुटकेस गुडाउँदै बाहिर निस्केँ। अनि कोठातिर पुलुक्क हेर्दै दाँतले आफ्ना ओठ दबाई निस्कनै लागेको डाँको भित्रै कैद गरिदिएँ।

हरि दाइको गाडी चोकमा आएर हरन बजाउन थाल्यो। घडिले आफ्नो छोटो सुई पाँच अंकमा पुर्‍याइसकेको थियो।

भञ्ज्याङमा डुल्ने कुकुरहरू अगाडिका खुट्टा तन्काउँदै मेरो साइत नियालिरहेका थिए। गाडीमा पाइलो राखेसँगै तिम्रो सम्झना काँडा बनेर बारम्बार मुटुमा घोचिरह्यो। मन, मस्तिष्क र रगतमा छताछुल्ल पोखिएका थियौ तिमी। घर, घरसँगै गाउँ धमिलो हुँदै गयो र पर कतै क्षितिजको चेपमा बिलायो। तर तिम्रो याद गाढा भएर मन मस्तिष्कमा नाचिरहेको थियो।
तिमी मेरो काखमा लापरवाह लडिबुडी खेल्दा पोखिने बालगन्धको आभाष पाउन मात्रै भए पनि छट्पटाइरहेको थियो मेरो मन। आफ्नै वस्त्र सुम्सुम्याएँ, धेरै बेरसम्म। तिम्रो त्यो बालगन्धमा रमाइराख्न भाग्यमै रहेनछ क्यार! तिम्रो टुटेफुटेका तोतेबोलीले गासिँएको यादको डोरी म जति पर जान्थेँ, त्यो उति बलियो बन्दै जान्थ्यो।

अहिलेसम्म साथ नछुटाएका यी सेरोफेरोलाई एक्कासि गाडीको रफ्तारले पछि पार्दै जान थाल्यो। एकपछि अर्को याद भने तँछाडमछाड गर्दै अघिअघि बुर्कुसी मार्दै थिए। नागढुङ्गादेखि कलंकीसम्मको दुई घण्टाको जामपछि म छिप्पिइसकेको रात चिर्दै गाउँकै दाइको होटल पुगेँ।

नाताको कुरा गर्दा अलि परको जस्तो लागे पनि माया र सदव्यवहारका कारण आफ्नै सहोदर दाजु समान हुनुहुन्थ्यो उहाँ। दाजु, भाउजू र सानी नानी थिइन्। नानी मेरो बाबुकै उमेरकी। उसलाई देखेपछि मलाई बाबुको बिछट्टै याद आउन थाल्यो।

बिहानदेखि पेटमा पानीबाहेक केही परेको थिएन। भाउजूले खाना खान बोलाउनुभयो। तिमीसँगै खेलेर खाने बानी परेको मलाई आज एक्लै खानुपर्दा त्यो गास ढुंगा सरह भयो। निल्नै सकिनँ। तिम्रो याद केहीछिन ओझेल पार्न कोशिस गरेँ। भाउजूलाई लिएर बाहिर निस्किएँ।

दिनभरको कोलाहलले तातेको सहर बिस्तारै सेलाउँदै थियो। सडक छेवैमा फलामे कराइमा आगो हम्किँदै मकै पोलिरहेकी महिलातिर मेरो नजर गयो। उमेरले लगभग तीस कटेजस्ती। पुसको जाडोमा अनुहारमा कालो मास्क, टाउकोमा कलेटी परेको ढाकाको सानो पछ्यौरी, छातिनेर चोलीको तुना बाँध्न बिर्सेको जस्तो खुला राखेकी, खुट्टामा माटैमाटो लागेको किचन सुज, कार्टुनको ढड्डाले हावा दिँदै मकै पोलिरहेकी।

पातलो प्लाष्टिकको म्याट्रेसमाथि सलले बेरिएर मकै राखेको झोलालाई सिरानी बनाई एउटा बच्चा उनको आडैमा सुतिराखेको थियो। निदाएको थिएन। सायद उसले आमाको घर जाने साइत कति बेला जुर्ने होला भनी सोचिरहेको हुनुपर्छ।

ती महिला बेफिक्री मकै पोल्दै आफैं खाँदै थिइन्।

‘मकै पोलेर आफू मात्रै खाने कि हामीलाई पनि दिने हो?’ मैले ठट्टा गरेँ।

‘हैन हजुर म अब कोठामा जान लागेको। यो मेरो बेलुकाको खाना हो। बचेखुचेको यही मकै खाएर सुत्ने हो। कोठामा जान यहाँबाट एक घण्टा लाग्छ। पुग्दा नपुग्दै थाकिन्छ। यति भएपछि त घुत्रुक्कै सुत्न पाइयो।’

‘अनि त्यो बाबु हजुरको हैन? ऊ चाहिँ भोकै हुन्न त?’ मैले जिज्ञासु भावमा सोधेँ।

‘बाबुलाई चाहिँ बिहान पकाएर राखेको जाउलो छ। त्यही खान्छ।’

म सानैदेखि मकै भनेपछि हुरुक्कै। भाउजूलाई मकै खाऔं भनेँ।

‘भर्खरै मात्र खाना खाएको के मकै खाने हो र?’ भाउजूले भन्नुभयो, ‘तपाईं खानु, हजुर पक्कै पनि एकछिन भुल्नुहुन्छ होला। मेरो काम छ म गएँ है।’

आरीमा भुङ्ग्रो पनि निकै कम भइसकेको रहेछ। उनी कोठामा जाने सुरमा रहिछन्। तर उनले मेरो आग्रह नकार्न सकिनन्। बडो दुःखले निभ्नै लागेको भुङ्ग्रो जगाइन्। मेरो बानी फेरि एकछिन नबोली बस्नै नसक्ने। कोही भेट्यो कि बोल्न केही न केही बहाना जुटाइहाल्नुपर्ने।

अघिसम्म आनन्दले बसेको नाकभरी सिँगान, आँखाभरी चिप्रा अनि मैलो लुगाले बेरिएको बच्चा अचानक मकै पोल्ने दिदीको नजिकै आयो र चोली तान्दै बुबु भन्न थाल्यो। भुइँमा थचक्क बसेर फलामे कराइमा भुङ्ग्रो हम्किँदै छोरालाई काखमा राखेर दूध चुसाउन थालिन्। उनको धैर्य र हिम्मत देखेर आफ्नो मनलाई अलि बलियो बनाएँ। मलाई उनीसँग धेरै कुरा गर्न मन लाग्यो। अनि म त्यही सडकछेउ काम्दै उनको क्रियाकलापलाई नियालिरहेँ।

कुरै कुरामा रातको दस बजिसकेछ। उनी घर जाने कुनै छाँटकाँट नै नदेखाएपछि मैले उनलाई सोधें, ‘अहो दिदी! कुरा गर्दा गर्दै रात छिप्पिइसकेछ। तपाईंलाई घर जान डर लाग्दैन?’

अब भने उनले आफ्नो बेदनाको पोको खोल्न थालिन्।

‘डर त पहिला लाग्थ्यो बहिनी, जहिले सबथोक थियो। अब त के को डर मान्नुपर्‍यो र? न घर छ न परिवार!बहत्तरको भूकम्पले सबै निमिठ्यान्न पार्‍यो। खाने बस्ने ठेगान नभएपछि कतै जाऊँ केही गरौं भनी श्रीमानसँग आग्रह गरेँ। तर उनले कानमा तेल हालेर बसे। त्यतिबेला राहतको ओइरो थियो। त्यही भएर उनी गाउँ छाडेर हिँड्न मानेनन्। गर्जो टार्न केही गर्छु भनी म काठमाडौं आएँ। एउटाको घरमा काम गरेँ।

म दुई जीउकी रहिछु यहाँ आएपछि पो थाहा भयो। तीन महिना जति काम गरेकी थिएँ। साहुले म दुई जीउकी भएको थाहा पाएर कामबाट निकालिदिए। बैनी पनि यहीँ काठमाडौंमा छ। उसकोमा बसेर तीन-चार जनाको घरमा भाँडा माझ्ने र कपडा धुने काम गरेँ। अलि अलि पैसा जोहो पनि भयो। मलाई राखेको भनेर ज्वाइँले बहिनीलाई रातदिन अखानो गर्न थाले। यो थाहा पाएपछि छ महिनाको बच्चा च्यापेर यी यही काम गरी जीवन निर्वाह गरेकी छु।

अब त बाबु पनि हुर्किसकेको छ। अहिले श्रीमानले अर्की ल्याएर बसेका छन् भन्ने सुनेकी छु। यहीँ काठमाडौंमा आफन्तको कमी छैन। एउटा सानो चिया पसल भए पनि खोलेर गुजारा चलाउँछु भनी आफन्तसँग हार गुहार मागेँ। विदेश जाने भए पैसा पाउँछेस्। नेपालमा बसेर चिया पसल खोलेर नि कहिल्यै उँभो लागिन्छ? सबैले यही भन्दै मलाई रित्तो हात फर्काए।

विदेशतिर जाऊँ पनि कसरी यो बच्चा छोडेर? आफू जिउँदो रहँदारहँदै के टुहुरो बनाउनु? जिन्दगी जिउन हो बहिनी सुख दुःख त आफ्नो सोचाइ हो। मलाई यसरी जिउनुमा कुनै आपत्ति छैन। हिम्मत छ। सकुञ्जेल काम गर्छु। मसँग भगवान पनि थाक्नेछन् सन्तानप्रतिको मेरो यो कठोर तप देखेर। सानो कोठा लिएकी छु। खान बस्न समस्या छैन। दुनियाँले जे सुकै भनून् मलाई पर्वाह छैन। जिन्दगीले मलाई धेरै सिकाएको छ। मैले आफूभित्रको खुसीलाई अहिले आएर बल्ल चिन्न थालेकी छु बहिनी।’

यति धेरै आफ्ना कुरा कति सजिलै बताउन सकेकी हुन् उनले। उनको त्यतिबेला न त मुटु दुखेको थियो न आँखा रसाएका थिए। उनको कुराले मेरो मन भक्कानियो। मुख छोपेर कसैले थाहा नपाउने गरी म त्यहाँबाट हिडेँ।

उनले देखाएको हिम्मतले मेरो मनमा ऊर्जाको सञ्चार गरायो। दूधे बालकदेखि दुरी बढाउँदै गरेकी एउटी आमाको काँप्दै अघि बढेका पाइलाहरुमा पूर्णविराम लगायो। म सरासर कोठा गएँ। म्यानपावर एजेन्टलाई फोन लगाएँ। फ्लाइट क्यान्सिल गरिदिन भनेँ।

भोलिपल्ट होटलका दाइले बिहान सबेरै मेरो साइतको चाँजो मिलाउनुभएको रहेछ। धेरै बेरसम्म म कोठाबाट ननिस्किएपछि उहाँ कोठामै आउनुभयो। मैले सबै बताएँ। उहाँ मलाई आवेगमा आएर यस्तो निर्णय नलिन सुझाउँदै हुुनुहुन्थ्यो।

मैले भनेँ, ‘आखिर विदेश गएर मेरो आर्थिक भार कम हुन्छ भन्ने के ग्यारेन्टी छ? हिजो घरबाट निस्किँदा एकैछिनमा मानसिक तनावको पारो नपत्याउँदो गरी उकालो लागेको थियो। यसरी नै म छट्पटाइरहेँ भने मानसिक रोगको शिकार हुन कति बेर लाग्छ र दाइ? म त्यो दुई वर्षको छोरालाई अपांगता भएका श्रीमानको जिम्मा लगाएर कसरी विदेश जाऊँ? विदेशमा गर्ने मेहनत म यहीँ गर्छु, मेरो छोरोलाई स्नेहले पदार्पण गर्छु। श्रीमानको आत्मबल बनेर मुस्कुराइरहन्छु।’

दाइका आँखा रसाउन थाले। ‘हुन्छ बहिनी जाऊ’ भनी मलाई बिदा गरिदिए।

घर छाडेको एकाध दिनमै म यत्ति विक्षिप्त भएकी रहिछु कि घर पुगेपछिको त्यो क्षण मेरा लागि निर्जल मरुभूमिमा पुगेर व्याकुल भएको एउटा प्यासीले पाएको एक गिलास पानी सरह भयो। बाबुलाई छातीमै टाँसिरहेँ। रात श्रीमानसँगको भलाकुसारीमै बित्यो। बिहानपखको भालेको डाँको निस्कने बेलामा झपक्क निदाएछु।

म उठिसक्दा त डाँडामाथि घाम टुक्रुक्क बसेर मेरो घरतिर नजर डुलाउँदै थिए। बरण्डामा निस्किएर लामो सास तानेँ। लाखौं बोटबिरुवाको प्राणले भरिएको त्यो एक सर्को सासले मेरो जिउलाई तरंगित बनाइदियो। वरिपरि नजर डुलाएँ। घरलाई वनमासा र पातीले घेरेको थियो। गन्धे फुलेर सेताम्य। खुर्पा लिएर फाड्न निस्केँ। श्रीमान माथि बरण्डाबाट मलाई हेरेर हाँस्दै भन्दै हुनुहुन्थ्यो।

ढिलै भएपनि बुद्धि फिरेछ, ‘खाडी छाडेर झाडीतिर, कोरिया छोडेर खोरियातिर…’

केही समयपछि घर वरिपरिको दृष्य अलग्गै भयो। व्यावसायिक रूपमा किसानी कामलाई अघि बढाउन नसके पनि घरको गर्जो राम्रैसँग टारेकी थिएँ। धन, सम्पत्तिले किन्न नसकिने पारिवारिक सुख भोग चलन गर्न पाएकोमा खुसी थिएँ। विदेश जाने रहर पालेका युवा रोक्न मैले मेरो यो वास्तविक कहानी सुनाउँथेँ। उनीहरू हण्डर खाएर स्वदेश नफर्कुञ्जेलसम्म मेरो यो कहानी दन्त्यकथा सम्झी एक कानले सुनेर अर्को कानले उडाउँथे।

घरमा दुहुनो भैंसी पनि पालेँ। दूध, घ्यू, दहिले श्रीमानको स्वास्थ्यमा सुधार देखिन थाल्यो। बाबु ठूलो हुँदै गयो। नजिकै स्कुल भर्ना गरिदिएँ। श्रीमानले दिउँसो डोको, डालो बुन्न थाल्नुभयो। बिहानको दूध डेरीमा पठाउन थालेँ। आपसी हातेमालोले हाम्रो आर्थिक सुधारमा निकै सहयोग भयो। छोराको रमाइलो गफले हाम्रो संसारको सबै दुःख बिसाईदिन्थ्यो। माटाको घर सिमेन्टको भयो, खरको छानो टिनको बन्यो, घरको मुहार फेरिएको थियो।

त्यतिमात्र होइन छोराको मुहार, बाबाको मुहार अनि मेरो मनको मुहार पनि फेरिएको थियो। सायद परदेश गएको भए यही मायालु मुहारको सन्तापले मलाई चिताको बाटो पुर्‍याउँदो हो। मेरो परिवारको बेहाल हुँदो हो।

समय उक्लिँदै गयो।

घरभित्रै दुःख सुख चित्त बुझाएर बस्नसक्ने मेरो मनजस्तो छोरा बुहारीको भएन। बाहिरका मान्छेलाई दिने मेरा अर्ति–उपदेश आफ्नै घरकालाई काम लागेन। छोरो विदेश गएको पनि एक दशक भयो। बिहेबारी गरेर उतै बस्यो। नाति अहिले आठ वर्ष लाग्दैछ। छोरा, बुहारी, नातिको मायाले अहिले हामी पनि यहीँ आएका छौं। नातिले हामीलाई चिनेन। साह्रै दुःख लाग्यो। अहिले पनि उसँग नजिकिन हामी धेरै कोशिस गर्छौं। तर उसले वास्तै गर्दैन।

न हामीले बोलेको भाषाले बुझ्छ, न उसले बोलेको हामी बुझ्छौं। आज यहाँ आएको पनि छ महिना बितिसक्यो। नेपाल फर्किने दिन आइसक्यो। यिनीहरूलाई छाडेर कसरी जाने? अहिलेदेखि नै यिनीहरूको यादले उडान भर्न थालिसकेका छन्। पछि के हालत हुने हो थाहा छैन?…

यत्तिकैमा गाडीको हर्न बज्छ। बिरु आफ्नो टाइसुट मिलाएर तल ओर्लन्छ।

‘साहेब आज किन ढिला गर्नुभयो? अफिसमा आज गेष्टहरू आउँदै हुनुहुन्छ। इन्टरनेसनल कन्फेरेन्स भन्दै हुनुन्थ्यो त आज?’

‘उम्…एउटा फाइल खोज्दा खोज्दै ढिलो भयो,’ आफ्नी आमाले लेखेको तीतो यथार्थले भरिएको डायरीको कथाले बिरुको मन अमिलो बनाइरहेको थियो। त्यसपछि भने उसलाई आफ्नो देश फर्कने रहर पलाउन थाल्यो।
(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छिन्।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0