रानीपोखरी भरियो झ्याउ र लेउले, कसरी सफा गर्ला प्राधिकरणले?

पुनर्निर्माण प्राधिकरणले पहिलो चरणको काम सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थितिमा औपचारिक शुभारम्भ पनि गर्‍यो।

ऐतिहासिक पोखरी बन्नु ठूलो कुरा हो। तर यसको स्याहार गर्न पनि उत्तिकै जरूरी छ जुन अहिले भएको देखिन्न। रानीपोखरी ‘लेउ र झ्याउ पोखरी’ भन्न लायक भएको छ।

हामीले प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीसँग औपचारिक शुभारम्भ भइसकेपछि कुराकानी गरेका थियौं।पोखरीको नियमित सरसफाई विषयमा उनले भनेका थिए, ‘डुंगा खियाउँदै जालीले सफा गर्ने काम नियमित हुनेछ। केही हदसम्म पोखरीका माछाबाटै पनि सरसफाइ हुने कालिगढहरूले बताएका छन्।’

भनेअनुसार काम नभएपछि हामीले प्राधिकरणका राजुमान मानन्धरसँग यो विषयमा सोध्यौं। उनी लगायत प्राधिकरणको टोली अहिले धरहरा निर्माणमा व्यस्त रहेछन्।त्यसैले पनि रानीपोखरीमा राम्ररी ध्यान दिन नसकेको बताउँदै उनले भने, ‘रानीपोखरीको विषयमा यसै साता छलफल गर्ने तयारीमा छौं। हामीले पहिला बारम्बार पोखरी सफा गरेका त थियौं। तर लेउ आउने क्रम रोकिएन। त्यसैले, पोखरी सफा हुने दीर्घकालीन समाधानतर्फ हाम्रो ध्यान छ।’रासायनिक सामग्रीहरू सोडियम सल्फेट, क्लोरिन लगायतबाट स्थायी रूपमा लेउ हटाउन सकिन्छ। तर यसले माछा र अन्य जलचरलाई असर पुग्ने भएकाले विज्ञसँगै छलफल गरेर दीर्घकालीन समाधान खोज्न लागिएको राजुमानले बताए। पानीलाई ‘अक्सिडाइज’ गर्न सकियो भने लेउको समस्या समाधान हुने उनको बुझाइ छ।

प्राधिकरणले भनेजस्तो डुंगा खियाउँदै जालीले पोखरी सफा गर्ने काम नभएको भने होइन। निर्माण भइसकेपछि, औपचारिक शुभारम्भ, भाइटीका बेला र अन्य समयमा गरी पाँच पटक सफा गरिसकेको जानकारी दिँदै राजुमानले भने, ‘पछिल्लो पटक हामीले भाइटीका बेलामा पोखरी सफा गरेका थियौं। तर पटक–पटक यसरी सफा गर्दा धेरै खर्च लाग्ने भएकाले दीर्घकालीन समाधान खोज्न लागेका हौं।’प्रताप मल्लकालीन रानीपोखरीमा नेपाल र भारतका ५१ तीर्थस्थलको जल हालेको इतिहास छ। रानीपोखरीको औपचारिक शुभारम्भ क्रममा पनि विभिन्न ४६ तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो। गोसाइँकुण्ड, तिलिचो ताल, मुक्तिनाथ, बढिमालिकादेखि भारतका बनारस, गंगोत्री, यमुना, हरिद्वार, बद्रीनाथ, केदारनाथ लगायत तीर्थस्थलको जल चढाइएको प्राधिकरणले जनाएको थियो।

रानीपोखरीको तल्लो तहसम्म मात्र भर्दा ३ करोड लिटर पानी अट्छ। माथिको किनारसम्म भर्ने हो भने २५ करोड लिटर अट्ने क्षमता छ। रानीपोखरी सर्वसाधारणका लागि खुला गरेपछि सार्वजनिक सुरक्षाको ख्याल राख्नुपर्छ। त्यसैले २५ करोड लिटर नै अट्ने गरी टम्म पानी भर्ने योजना छैन। तल्लो तहसम्म मात्र भर्ने प्राधिकरणको योजना हो।

रानीपोखरीको अहिलेको पानीको स्रोत वर्षातको समयमा वरिपरिबाट बग्दै आएको पानी र मेलम्चीबाट ल्याइएको पानी हो। त्योबाहेक १ करोड ८५ लाख लिटर पानी किनेर ल्याइसकिएको छ।

पाँगो माटो, बालुवा र कालो माटोको तहमाथि इँटा सोलिङ गरेर रानीपोखरी परम्परागत शैलीबाट बनाइएको छ। जसकारण, पोखरीबाट पानी चुहिने सम्भावना छैन। चुहिँदैन भन्दैमा अहिले जति छ, त्यो सधैं रहन्छ भन्ने होइन। घामको तापले हरेक दिन केही पानी बाफ बनेर उडेर जान्छ।

अहिले पानी बाफ बनेर उडेर जम्मा १ करोड १९ लाख लिटर मात्र पानी रानीपोखरीमा रहेको राजुमानले बताए। त्यसैले, फेरि पानी ल्याउने प्राधिकरणको योजना छ।

यहाँ बोरिङबाट पनि पानी हाल्ने योजना थियो। जनविरोध भएपछि भने त्यो काम अहिले रोकिइसक्यो। बग्दै आएको पानी फोहोर भएको र मेलम्चीबाट ल्याइएको पानी पनि फिल्टर नगरी हालिएको हुँदा लेउ बन्न उपयुक्त भएको हुनसक्ने प्राधिकरणको अनुमान छ।

‘लेउ हटाउन माछा पनि पाल्न सकिन्छ’ भन्ने विचारहरू पनि जनसमुदायले सामाजिक सञ्जालमार्फत दिइरहेका छन्। रानीपोखरी निर्माणपछि यहाँ माछाहरू प्राधिकरण आफैंले छाडेका छैनन्। भएका केही माछाहरू स्थानीयले छाडेका हुन सक्छन्। भविष्यमा माछाहरू राख्ने सोच भए पनि त्यो स्थायी समाधान हुन नसक्ने राजुमान बताउँछन्।

‘माछाले पनि लेउ खाएर केही हदसम्म पोखरी सफा गर्छन्। तर सफा गर्न पोखरी बराबरको माछा चाहिन्छ,’ उनले भने, ‘त्यसैले पानी चलाएर अक्सिडाइज गरिरहने मिलजस्तो केही उपकरण राख्ने योजना छ।’

जनसमुदायको अर्को पनि जिज्ञासा छ, ‘रानीपोखरी कहिले खुल्छ?’

रानीपोखरीलाई काठमाडौंको ‘मुट’ भनिन्छ। तर, हामीले यो मुटुको ढुकढुकी छाम्न पाएका छैनौं। विगतमा पनि तिहारको भाइटीकाबाहेक अरू बेला सर्वसाधारणलाई छिर्न दिइन्थेन। हामीले रानीपोखरी देखेका छौं, यसलाई आँखा र मुटुभरि बसाएका पनि छौं, तर भित्र छिरेर यसको सौन्दर्यको स्वाद लिन पाएका छैनौं।

हामीले यो मल्लकालीन सम्पदालाई बन्द संग्रहालयजस्तो राख्यौं, जसलाई टाढाबाट हेर्न त सकिन्छ, नजिक गएर छुन पाइँदैन। यसलाई हामीले मन्दिर बनाएनौं, जहाँ मान्छे आउँछन्, छुन्छन्, दर्शन गर्छन् र रमाउँछन्।

अब पनि यसलाई संग्रहालयजस्तै मान्छेको पहुँचबाट अलग राख्ने कि मन्दिरजस्तै खुला गर्ने? हामी कहिलेबाट रानीपोखरी छिर्न पाउँछौं?

प्राधिकरणले सर्वसाधारणको प्रवेश कसरी खुला गर्ने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे काठमाडौं महानगरपालिकासँग मिलेर कार्यविधि बनाउँदैछ। पहिलो चरणको काम भइसके पनि दोस्रो चरणको काम बाँकी छ।

दोस्रो चरणमा प्राधिकरणले जमल र शान्तिबाटिका पुनर्निर्माण गर्ने भनेको छ। यी दुवै क्षेत्र बनेपछि वरिपरि फराकिलो खुला स्थल तयार हुनेछ। जमल क्षेत्रमा व्यायाम गरेर आएपछि बस्ने र पत्रिका पढ्ने ठाउँ अनि हरियाली बनाउने योजना छ। शान्तिबाटिका क्षेत्रमा पार्क व्यवस्थापन, शौचालय निर्माण, रानीपोखरी छिर्ने टिकट काउन्टर र कफी पसलहरू बन्नेछन्।

शान्तिबाटिका फराकिलो पारेर सोह्रहाते गणेशस्थानदेखि प्रहरी कार्यालयसम्म विस्तार हुनेछ। शान्तिबाटिकाकै बीचमा अहिले जहाँ गणेशमान सिंहको शालिक छ, त्यहाँ पहिले मल्लकालीन ‘फल्चा’ (पाटी) थियो। त्यो फल्चा मासिएको धेरै भयो। केही पुराना तस्बिरका आधारमा त्यो फल्चा पनि ब्युँताउने प्राधिकरणले जनाएको छ।

विश्वज्योति हलको ठ्याक्कै अगाडि पहिले कानुन पुस्तकालय थियो। त्यो भवन परम्परागत आर्किटेक्चरको झलक आउने गरी रेट्रोफिट हुँदैछ। यसलाई प्रताप मल्ल संग्रहालयका रूपमा विकास गरिँदैछ। रानीपोखरी जीर्णोद्धार क्रममा फेला परेका मल्लकालीन वस्तुहरू यहाँ प्रदर्शनका लागि राखिनेछन्।

यी सबै अहिले सुरू नभइसकेकाले रानीपोखरी खुल्न अझै समय लाग्नेछ।

‘हामीले केही दिनमै कामको ठेक्का लागि आवेदन खोल्दैछौं,’ राजुमानले भने, ‘यी सबै निर्माण गरेपछि महानगरपालिकालाई हामी रानीपोखरी पूर्ण रूपमा हस्तान्तरण गर्छौं। त्यसपछि उहाँहरूले नै कहिले खोल्ने भनेर निर्णय गर्नुहुन्छ।’Source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0