राजावादी आन्दोलनको स्वैरकल्पना

राजावादीहरूसँग ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा त छ तर साँच्चै त्यस्तो भयो भने नेपाली जनताको भविष्य कसरी उज्ज्वल हुन्छ भन्ने विचार, तथ्य र योजनाचाहिँ छैन ।
नेपाली समाजको चेतना, राजनीतिक शक्तिहरूको अवस्थिति र विश्व वातावरणलाई समेत एक ठाउँमा राख्दा राजतन्त्रको पुनःस्थापना कार्यकारी हुनुपर्ने वा हुन सक्ने अवस्था कतैबाट पनि प्रकट भएको छैन ।
बितेका केही हप्ताबीच ‘राजा आऊ, देश बचाऊ’ भन्दै राजावादीहरूले केही हजार मोटरसाइकल र केही सय साना गाडीसहित संघीय राजधानी लगायतका सहरहरूमा प्रदर्शन गरे । सामाजिक सञ्जालहरूमा गणतन्त्रका निम्ति विगतमा उर्लिएका जनसागरका फोटाहरूसमेत काटकुट गरेर राख्दै उनीहरूले गणतन्त्रका विरुद्धमा जनता देशव्यापी उठेको प्रचारसमेत गर्न भ्याए ।
त्यसको उल्टो भ्रष्टाचार, कमिसनखोरी, नातावाद घीनलाग्दो स्तरमा प्रकट भयो । यस स्थितिमा आम जनतामा निराशा र आक्रोश अनि प्रतिगामीहरूमा उत्साह जाग्नु स्वाभाविक बन्न पुगेको छ । तीन, आरएसएसजस्ता संगठनहरूले नेपालका सम्भव युवाहरूलाई खर्चपानीको लोभलाग्दो व्यवस्थासहित भारतमा बोलाएर हिन्दुत्ववादको प्रशिक्षण बर्सेनि चलाइरहेका छन् । यसको चाँजोपाँजो मिलाउन नेपालमा निरन्तर खट्ने संगठनहरू क्रियाशील छन् । कुनै पनि उपयुक्त मौका पाउनेबित्तिकै राजतन्त्र वा हिन्दुत्ववादको पक्षमा उपद्रव मच्चाउनु नै उनीहरूको उद्देश्य हो भन्ने सहजै बुझ्न सकिन्छ । चार, कोरोना महामारीले सिर्जना गरेको अभाव र बेरोजगारीले जन्माएको संकट अनि त्यसको समाधानका दिशामा राज्यको उदासीनता र असफलताबाट आमजनतामा तीव्र रूपमा चिढचिढाहट बढ्दो छ । यस प्रकारको अवस्थालाई उपयोग गरेर आफ्नो दक्षिणपन्थी मनसुबातिर जनतालाई मोड्न कुनै पनि समाजमा प्रतिगामी वा दक्षिणपन्थी शक्तिहरूले प्रयास गर्छन् । नेपालका राजावादीहरू पनि यस माहोललाई आफ्नो उद्देश्यका निम्ति प्रयोग गर्न सकिन्छ कि भनी उत्साहित हुनु स्वाभाविक छ ।

यस्तो पृष्ठभूमिका कारण राजावादीहरू उत्साहित हुन पुगे पनि राजतन्त्र फर्काउनैपर्ने वैचारिकता भने उनीहरूले प्रस्तुत गर्न सकेका छैनन् । वास्तवमा त्यो ऐतिहासिक आवश्यकतालाई पुष्टि गर्न सकिने वैचारिकता नै आज छैन । राजतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएकाहरूले उराल्ने गरेको मुख्य मुद्दा भनेको आजका शासकहरूले गरेको भ्रष्टाचार र कमिसनखोरी हो । यो मुद्दाले निश्चित रूपमा आम जनतालाई आक्रोशित बनाएको छ । तर हिजो राजतन्त्र र राजतन्त्र अन्तर्गतको शासनमा चाहिँ भ्रष्टाचारको मात्रा कम थियो भन्ने त होइन । भ्रष्टाचार र राजतन्त्र एकआपसका विपरीत वैचारिक एवं संरचनागत पहलु त हुँदै होइनन् । पञ्चायतकाल होस् या दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रको शासनकाल, सबै क्षेत्रमा बेथितिहरूको डुंगुरमाथि नै नेपाली समाज टाक्सिन बाध्य भएकै हो । राजाकालमा समाज सुखी र व्यवस्थित हुन्थ्यो भने हजारौं मानिस बलिदान दिएर त्यो अवस्था उल्टाउन दशकौंसम्म हिँड्नु फगत एउटा पागलपन थियो र ? सयौं वर्षसम्म राजतन्त्रीय संस्कृतिमा हुर्केको हुनाले राजावादीहरूमा कम्तीमा संस्कृतिका रूपमा मात्र भए पनि राजतन्त्र राख्न पाए हुन्थ्यो भन्ने भावना पनि आउँदो हो । यदि नेपालको राजतन्त्रले पटकपटक जनआन्दोलन र संघर्षहरू दबाउन भूमिका नखेली एक मात्र संवादको शालीनता अख्तियार गर्ने प्रवृत्ति देखाएको भए त्यस्तो पनि सम्भावना विगतमा हुन्थ्यो होला ।

नेपालको राजतन्त्रले त्यस्तो शालीन प्रवृत्ति प्रकट नगरेकाले इतिहासमा यो सन्दर्भ जन्मिने अवस्था पनि रहेन । अब त अतीतमुखी यात्रा समाजले गर्न सक्दैन । भारतमा हिन्दुत्वलाई जोडले प्रवर्द्धन गरिरहेकाहरूले शासन चलाइरहेकाले पनि नेपालका राजावादीहरूमा आशाको सञ्चार भएको देखिन्छ । भारतका शासक र जोगीहरूसँग आफ्नो पुनरागमनका निम्ति पूर्वराजा ज्ञानेन्द्र आफैं पनि पटकपटक मन्त्रणा गर्न पुगेको यथार्थ समाचारहरूमा छाएकै हो । भारतीय शासकहरूको एउटा हिस्साले नेपालमा राजतन्त्र पुनर्बहालीका निम्ति कथंकदाचित् प्रत्यक्ष सहयोग गरेछ भने पनि राजतन्त्र पुनःस्थापनाको औचित्य पुष्टि हुन सक्दैन । भारतका शासकहरू आफ्नै भोका किसानहरूको हित गर्न असफल छन् भने तिनको आशीर्वादमा फर्किने नेपालको राजतन्त्रले नेपाली जनताको भलो कुन ल्याकतले गर्न सम्भव हुन्छ ? राजावादीहरूसँग ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा त छ तर साँच्चै त्यस्तो भयो भने नेपाली जनताको भविष्य कसरी उज्ज्वल हुन्छ भन्ने विचार, तथ्य र योजनाचाहिँ छैन । जुन अभियानसँग भविष्यको ठोस र उज्ज्वल खाका नै छैन, त्यो आन्दोलन हुँदैन, बढीमा मौकापरस्त हूलचाल मात्र हुन्छ ।

जतिसुकै वकालत गरे पनि राजतन्त्रलाई फर्काउन राजावादीहरूका अगाडि दुइटा बाटा मात्र छन् । एक, चुनाव जितेर दुईतिहाइ बहुमतबाट संविधान संशोधन गर्ने । दुई, विद्रोहबाट सत्ता कब्जा गर्ने । के राजावादीहरूले निर्वाचनबाट दुईतिहाइ मत ल्याउन सक्ने सम्भावना छ ? यो विषयको कल्पना पनि तत्काल हास्यास्पद लाग्छ । विद्रोहबाट सत्ता कब्जा गर्नचाहिँ एक त नेपाली जनता विद्रोहमा उत्रिनुपर्‍यो, होइन सैनिक कू गरौं भन्ने हो भने वैदेशिक शक्तिहरू खुला रूपमा अगाडि आउनुपर्ने हुन्छ । वैदेशिक शक्तिहरूलाई नेपाली जनताका विरुद्ध सैनिक कू मार्फत राजतन्त्र ब्युँताएर अतिरिक्त फाइदा हुने के ? आजका सत्ताधारी पार्टीहरूले भन्दा बढी वैदेशिक शक्तिहरूलाई रिझाउन सक्ने राजतन्त्रसँग कुनै विषय नै बाँकी छैन । अर्को कुरा, राजतन्त्र फर्किने माहोल बन्नका निम्ति गणतन्त्रका निम्ति लडेको पुस्ताको चेतनामा प्रतिगमन हुनुपर्ने हुन्छ जुन सम्भावना देखिँदैन । कतिपय पार्टीभित्र आफ्नो गुट बलियो बन्न सक्छ कि यो मुद्दाबाट भनी एकाध नेताले कहिलेकाहीँ राजतन्त्र र हिन्दु राष्ट्रको विषय उठाउँदैमा युगीन चेतनामा प्रतिगमन सम्भव छैन । यो यथार्थलाई पनि कदापि नजरअन्दाज गर्न मिल्दैन कि, गणतन्त्रका निम्ति लडेका पार्टीहरू आज जतिसुकै विभाजित र द्वन्द्वरत किन नहोऊन्, आवश्यक पर्दा गणतन्त्रको रक्षाका निम्ति अनिवार्य रूपमा एउटै मोर्चामा उभिनेछन् ।

सयौं वर्ष राजतन्त्रको टापमुनि उत्पीडन र अपमान भोगेर ब्युँझिएका जनजाति र दलित लगायतका उत्पीडितहरू निर्णायक अवस्थामा राजतन्त्रको पक्षमा जानै सक्दैनन् । यो विषय ज्याला दिएर पन्चैबाजाको टोलीलाई जुलुसमा नाच्न बोलाएजस्तो सजिलो कदापि होइन । अझ सबैभन्दा महत्त्वपूर्ण कुरा त, गणतान्त्रिक चेतनाको कम्युनिस्ट आन्दोलन नेपालमा जीवन्त छ । त्यस राजनीतिमा अनेक समस्या त छन् तर त्यो नेपाली समाजको बहिष्कृत राजनीति होइन र गणतन्त्रको रक्षा गर्नै नसक्ने हविगतमा पुगेको पनि छैन । नेपाली समाजको चेतना, राजनीतिक शक्तिहरूको अवस्थिति र विश्व वातावरणलाई समेत एक ठाउँमा राख्दा राजतन्त्रको पुनःस्थापना कार्यकारी हुनुपर्ने वा हुन सक्ने अवस्था कतैबाट पनि प्रकट भएको छैन, बरु यो राजावादीहरूको स्वैरकल्पना मात्रै हो ।

यस प्रकार ‘राजा आऊ, देश बचाऊ’ भन्ने खालको राजनीति आजकै गणतान्त्रिक परिपाटीभित्र राजनीतिक खेलोफड्को गर्ने छेउकुनाको एउटा पार्टी बनाउने वा चल्तीकै राप्रपाजस्ता पार्टीलाई केही भोट थपिदिने स्तरसम्म पुग्न त सम्भव छ, तर राजतन्त्र फर्काउने स्तरसम्म विस्तार हुन सम्भव छैन । नेपाली समाजमा असन्तुष्टि चुलिँदै गएको छ, यो सत्य हो । तर त्यो असन्तुष्टिको गाँठो प्रतिगमनतिर फर्केको छैन, बरु अगाडि जाने बाटोतिरै फर्केको छ । इतिहासमा कुडाकर्कट साबित भएर फालिएको राजतन्त्रलाई ब्युँताउने प्रलापमा समय खेर फाल्नु भनेको बिग्रेको घरलाई ठीक पार्न मरेका पुर्खालाई खोज्दै हिँड्नुजस्तै हो जुन आजको आवश्यकता होइन ।
आइतबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : मंसिर २७, २०७७ १९:२१
Source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0