कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव

स्रोत अनलाईन खबर बाट

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दै एउटा नारा दिएका छन्, १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन । निधिले पहिलो पटक साउन अन्तिम साता देउवालाई भेटेर आफू सभापतिका उम्मेदवार हुन चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । तर आफै सभापति लड्ने तयारी गरिरहेका देउवाले त्यसमा सहमति जनाएनन् ।

अरुले पनि निधिको दाबीलाई गम्भीर रुपमा लिएनन् । किनकी या त उनले देउवालाई रोकेर संस्थापन पक्षको सभापतिको उम्मेदवार हुनसक्नुपर्छ, या त त्यहाँबाट बिद्रोह गर्नुपर्छ । निधिका लागि दुबै विकल्प फलामको च्युरा सरह छ । त्यसलाई बुझेका उनले सभापतिमा आफ्नो दाबीलाई भन्न छाडेका छन्, र सर्वसम्मत नेतृत्व चयनको नारा दिएका छन् । बुधबार १०७ औं बीपी जयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा पनि उपसभापति निधिले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । फेरि कम्युनिस्ट पार्टी सत्तामा आयो भने संविधानको रक्षा गर्न नसक्ने भन्दै उनले भने, यो संविधानको रक्षा गर्न १४औं महाधिवेशनमा एकता वैचारिक आधारमा गरौं ।’

सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गर्न सकियो भने कार्यकर्ता, मतदाता र जनताको विश्वास जित्न सक्ने भन्दै उनले वैचारिक एकताका लागि नौसुत्र अघि सारेका छन् । राष्ट्रिय, लोकतन्त्र, समाजवाद गणतन्त्र, संघीयता, मिश्रित निर्वाचन प्रणाली, समावेशीता, धर्म निरपेक्षता, अहिंसा र शान्तिलाई वैचारिक एकताको सुत्र बनाउनुपर्ने उपभापति निधिले बताएका छन् । निधिपछि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले निधिको सर्वसम्मत नेतृत्व चयनको नाराबारे बोलेका छन्, तर सभापति देउवाले यो मुद्दालाई वास्तै गरेनन् ।

वरिष्ठ नेता पौडेलले आफू एकतवादी भएको बताए । उनले भने, ‘एकता चाहिन्छ तर निष्पक्ष र पारदर्शी मूल्यांकनका आधारमा एकता गरौं । सबै ढाकछोप गरेर चल्दैन ।’
संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले उपभापति निधिको नाम नलिई भनेका छन्, ‘कहाँ, कसको नेतृत्वमा, कसरी हुन्छ एकएक तर्क अगाडि सारेर सर्वसम्मत गरौं । म त्यसका लागि तयार छु ।’ कार्यक्रमको सुरुमै बोलेका पार्टी महामन्त्री शशांक कोइरालाले भने १४ औं महाधिवेशनमा गुट–उपगुट रहने बताएका थिए । सभापतिमा दाबी गर्दै आएका उनले भने,‘कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्छ । तर आगामीसम्म गुट–उपगुट रहन्छ । त्यसपछि एकजुट भएर अगाडि बढ्न सक्नुपर्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0