रोगभन्दा ठूलो सत्रु, स्वास्थ्य भन्दा ठूलो धन केही छैन

A farmer carrying dry wheat after harvesting

A farmer carrying dry wheat after harvesting

एक महाराजा, जसको लागि धन–दौलतको कमी छैन । उनको भान्सामा चौरासी व्यञ्जन पाक्छ । सुत्नका लागि सुन–जडित आरमदायक पलंग छ । विलासिता र मनोरञ्जनका लागि घरमै मदिरालय छ, थिएटर छ । दराबार जस्तै घर छ । उनको वरीपरी सहयोगी, चिकित्सक, नोकर–चाकर छन् । अपुग केही छैन ।

तर, भान्सामा पाकेको चौरासी व्यञ्जन पचाउने क्षमता उनको शरीरले गुमाइसकेको छ । स्वादरहित थोरै खाना खानुपर्ने वाध्यता छ । सुन–जडित पलंगमा सुतेपनि उनको निद्रा गायब छ । सुत्नुअघि उनलाई छटपटी हुन्छ । बेचैन हुन्छ । त्यसैले निद्राको गोली चपाउनुपर्छ ।

देख्दा मुखभरी पानी आएपनि उनको ज्यानले मदिरापान धान्दैन । कोठाभरी सजाइएको मदिराबाट उनी आफुलाई तृप्त गर्न सक्दैनन् । रमझमका लागि उनको घरमा अनेक व्यवस्था छ । तर, उनी न नाच्न सक्छन्, न गाउन । न अरुले गरेको रमझममा लामो समय साथ दिन सक्छन् ।

उनीसँग विलासीपूर्ण ढंगले देश–विदेश सयर गर्ने हैसियत छ । तर, यात्रामा उनले रोमाञ्चकता अनुभूत गर्नै सक्दैनन् । प्राकृतिक वा भौतिक सौन्दर्यबाट उनले आनन्द उठाउनै सक्दैनन् ।

किनभने, उनीसँग सबैथोक छ । तर, स्वस्थ शरीर छैन । उनी रोगै रोगले ग्रस्त छन् ।

सोचौं त, जुन त्यो धन–दौलत, त्यो सुख–सुविधा उनको लागि के नै भयो ?

न त्यसले उनलाई आरम दिएको छ, न सन्तोष । उनकै रोगी शरीर नै उनका निम्ति सबैभन्दा ठूलो सत्रु भएन र ?

अब एक श्रमजीवि व्यक्तिलाई नियालौं, जसलाई आफ्नो पाखुरी नचलाई, पसिना नबगाई दुई छाक जुटाउन मुस्किल पर्छ । उनीसँग सुकिला लुगाफाटो छैन । सानो छाप्रोमा बस्छन् । आरमदायक पलंगको के कुरा, उनीसँग गतिलो ओड्ने र ओछ्याउने पनि छैन । रमझम गर्ने, तडकभडक गर्ने त के कुरा, उनीसँग औषधि किन्ने पैसा पनि जगेडा छैन ।

तर, साग र आलुमा झोल लगाएर एउटा पिरो खुर्सानी टोक्न पाए उनी थपी–थपी स्वाद लिएर दुई थाल भात खाइदिन्छन् । थरीथरी तरकारी चाहिँदैन, नुनिलो बनाउने एकथरी तरकारी भए उनलाई जतिपनि भात रुच्छ । हरेक गाँस उत्तिकै स्वादिलो र रुचीकर लाग्छ ।

आरमदायक पलंग नभएर के भो ? गतिलो ओड्ने–ओछ्याउने नभएर के भो ? ज्यानलाई एकसरो गुन्द्रीमा लम्पसार पार्न पाए उनी मस्त निदाइहाल्छन् । उनी मेहनत र इमानको आर्जन खान्छन् । न कुनै कुराले उनमा भय पैदा गरिदिएको छ, न मोह नै जगाइदिएको छ । बडो सन्तोष छ । अहिलेसम्म अस्पतालको आँगन टेकेका छैनन् । औषधि खाएका छैनन् । सामान्य रुघाखोकी, ज्वरो, झाडापखला त उनी यत्तिकै पचाइदिन्छन् ।

अब सोचौं त कुन जीवन काइदाको ? कसको जीवन लोभलाग्दो ?

धन–दौलत, ऐश–आरम भएर के भो, जब शरीर नै रोगी छ भने । न चौरासी व्यञ्जनले तृप्त हुन सकिन्छ, न देश–दुनियाँ घुमेर रोमाञ्चक हुन सकिन्छ । सुनकै पलंगमा सुतेपनि निद्रा लाग्दैन । त्यसैले त सबैभन्दा ठूलो सत्रु भनेकै रोग हो । अर्थात रोगी जीवन ।

हाम्रा आफन्तसँग कहिले काहीँ ठाकठुक परेको हुनसक्छ, छिमेकीसँग बोलचाल बन्द भएको हुनसक्छ, सहकर्मीसँग झगडा परेको हुनसक्छ । हामी देख्छौं, उनीहरु नै हाम्रा सत्रु हुन् । तर, उनीहरुले हाम्रो केही बिगार्नै सक्दैनन् । हामीलाई कुनै बाधा पु¥याउन सक्दैनन् । न हाम्रो खुसी खोस्न सक्छ, न सन्तोष । न हामीलाई दिनदिनै पिरोल्छ, न हामीलाई सधै वेचैनी बनाउँछ ।

बरु रोग नै त्यस्तो सत्रु हो, जसले हामीलाई न सुत्न दिन्छ, न खान दिन्छ । जीवन नै नर्क जस्तो बनाइदिन्छ ।

हाम्रो सबैभन्दा उपलब्धी भन्नु नै निरोगी जीवन हो । निरोगी अवस्थामा रहनु जस्तो आनन्द अरु केही छैन । जे खाएपनि मीठो लाग्छ, जहाँ सुतेपनि निद्रा लाग्छ, जे गरेपनि सन्तोष मिल्छ ।source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0