बौद्ध दर्शन : सधैं खुशी हुने ८ मार्ग

जतिबेला कर्मवाद र आत्मवादको दीर्घ विकास उत्कर्षमा पुगिरहेको थियो, त्यतिबेला मध्यम स्तर र तल्लो स्तरका मानिसहरुलाई मुक्तिको लागि कुनै मार्ग नै थिएन । शास्त्रीय दर्शनमा ज्ञान काण्डको लागि तत्व ज्ञान पाउन ठूलै साधना गर्नुपर्ने अवस्था थियो भने कर्मकाण्डबाट मुक्तिको बाटोमा पुग्नको लागि पर्याप्त आर्थिक हैसियत आवश्यक थियो । त्यही बेलामा जन्मियो भौतिकवाद तर्फ उन्मुख बौद्ध दर्शन । सुखको लागि न त पूर्ण ज्ञान प्राप्त गर्नु आवश्यक छ न त दह्रो आर्थिक हैसियत भन्ने बनाउनको लागि सुरु भएको थियो बौद्ध दर्शन । यसले मध्यम स्तरका धेरैको मन जित्न सफल भयो । साथमा कुनैपनि यज्ञयज्ञादि बिना पनि आफ्नो मनलाई नियन्त्रणमा राख्न सके मुक्ति पाइन्छ भन्ने अवधारणाका कारण नै बौद्ध मत धेरै चर्चित भएको हो ।

मानव जीवन वर्णन गर्ने क्रममा बौद्ध दर्शनमा एउटा दृष्टान्त सुन्न पाइन्छ । कुनै समय एक व्यक्ति नदीमा डुंगा खियाउँदै थिए । नदी किनारमा उभिएको अर्का व्यक्तिले उसलाई चेतावनी दिँदै भन्यो, “यसरी प्रफुल्ल भई नदीको प्रवाहमा डुंगा नखियाउ, अगाडि नदीको प्रवाह तीव्र छ र डरलाग्दो भुमरी छ । त्यस पत्थरका गुफाहरूमा गोही तथा राक्षसहरू पर्खी बसेका छन् । तिमीले डुंगा खियाईराख्यौ भने तिम्रो अन्त्य हुनेछ ।”

यस दृष्टान्तमा “नदीको प्रवाह” भनेको कामवासनाको जीवन हो । “प्रफुल्ल भई डुंगा खियाउनु” भनेको आˆनो रागलाई वशमा पार्नु हो । “अगाडि नदीको प्रवाह तीव्र” भनेको आउने दुःख र वेदना हो, “भुमरी” भनेको भोग विलास हो, “गोही र राक्षस” भनेको लालसा र आशक्तिको जीवनले ल्याउने क्षय र मृत्यु हो । “नदीको किनारामा उभिएको व्यक्ति” जसले बोलायो, ऊ बुद्ध हो ।

यही दृष्टान्तले पनि हामी जीवनमा किन दुःखी छौं ? भन्ने यकीन हुन्छ । केवल कामबासना युक्त जीवन मात्रै दुःखी हुन्छ भन्ने अर्थ भने यसको होइन । बौद्ध मत अनुसार कुनैपनि इन्द्रियलाई मनले चलाउनेहरु जीवनमा सफल हुन्छन् भने मनलाई इन्द्रियले चलाउनेहरु सधैं दुःखी हुने गर्छन् । त्यसैले मनलाई इन्द्रियको पछि लाग्न दिनु हुँदैन ।

बौद्ध मतले मानिसका ४ आर्य सत्यहरुलाई प्रस्तुत गरेको छ । जसमा पहिलो हो मानिसको जीवनमा दुःख छ भन्ने । संसारमा नौ प्रकारका दुःखहरु छन् । जुन जन्म हुनुपर्ने दुख, बुढाबुढी हुनुपर्ने दुःख, रोगी हुनुपर्ने दुःख, मर्नुपर्ने दुःख, मननपर्नेहरुसँगको संयोग, मनपर्नेहरुसँगको वियोग, इच्छित बस्तु प्राप्त नहुनु, मृत्यु हुनु पर्दछन् ।
दुःखका कारणहरु छन्

दुःखको मूलभूत कारण नै क्षणिक पदार्थहरु माथिको तृष्णा हो । तीन प्रकारका तृष्णा छन् । ती हुन् काम तृष्णा (सुख भोगको चाहाना), भव तृष्णा (फेरि फेरि जन्म लिने चाहाना) विभव तृष्णा (कर्मफलमा विश्वास नलिने इच्छा) । यी तीन तृष्णाहरु नै दुखका मूल कारणहरु हुन् ।

दुखबाट मुक्त हुन सकिन्छ

यो दुःखबाट मुक्त हुनु नै दुःखको निवारण हो । तृष्णा नाश भएमा दुःखको पनि नाश हुन्छ । दुःखको निरोध तृष्णाको अन्त्य हो । तृष्णाको निरोध नै निर्वाण हो ।

दुःखबाट मुक्त हुनु नै निर्वाण

यही मनबाट अहं भाव र राग, द्वेष र मोह निरोध भएमा निर्वाण प्राप्त हुन्छ । त्यसकारण वास्तविक सुख निर्वाण हो ।

के हो अष्टागिंक योग मार्ग ?

माथि उल्लेख गरिएको दुखको कारण र त्यसको समाधानको लागि भगवान बुद्धले ८ वटा मार्ग देखाएका छन् । जसलाई अष्टागिंक मार्ग भन्ने गरिएको छ । ती निम्नानुसार छन् ।

सम्यक दृष्टि – ठीक धारणा (प्रज्ञा चक्षु खोल्नु, सही रुपमा हेर्नु, शुद्ध धर्म मात्र प्रवर्तित हुनु) ।

सम्यक संकल्प – ठीक सकल्प (चित्त वृत्तिलाइ निर्वाण पदमा लगाउन) ।

सम्यक वचन – ठीक वचन (वाक्चरितलाईु नाश गर्नु राम्रा र हितकारी वचन बोल्ने ) ।

सम्यक कर्मान्त – ठीक काम (प्राणी हिंसारहित काम गर्नु) ।

सम्यक आजीविका – ठीक जीवन (कसलाई नठगी आफ्ना श्रममा जिउनु वा जीविका चलाउनु ) ।

सम्यक व्यायाम – ठीक मेहनत, परिश्रम वा प्रयत्न (आलस्यलाई त्याग्नु, ठीकसँग प्रयत्न गर्नु)

सम्यक स्मृति – ठीक स्मृति, जागरण (मिथ्या बुझाइ वा मिथ्या समझको नाश गर्ने, सबैलाई ठीकसँग जान्नु)

सम्यक समाधि – ठीक एकाग्रता (चित्तलाइ स्थिर र एकाग्र गर्नु) ।sorce

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0