हेरौंला, कस्तोसँग बिहे गर्दिरैछ!

स्नातक सकियो? सामान्यतया स्नातक सक्नेबित्तिकै कुदेर आउनुपर्ने भनेको जागिर प्रस्ताव हो नि होइन?
तर नेपाली केटाकेटीलाई एक चरण पढाइ सकिनेबित्तिकै जागिर प्रस्तावभन्दा दस गुणा बढी पस्किइने अर्को प्रस्ताव छ- बिहेको।

अनि ठ्याक्कै उस्तै अनुपात- यो खाले प्रस्तावमा नाइँ भन्नु, जागिर प्रस्तावलाई नाइँ भन्नुभन्दा दस गुणा बढी मुश्किल पर्छ।

एउटा नाइँ, बीसवटा किन बोकेर आउँछ। यस्तो चिटिक्क परेको रूप छ त। अनि किन?

यति हुने-खाने खानदान छ त। अनि किन?

पढे-लेखेको, त्यतिका कमाउने रे त। अनि किन?

बिहेपछि पनि पढ्न, जागिर खान ‘दिने’ रे त। अनि किन?
सबै किनका उत्तर शब्दले थेग्न सक्ने हुँदैनन्। कुनै मान्छेसँग निद्रा अगाडिको अन्तिम हाइ र उठ्ने बित्तिकैको पहिलो ओइ बाँड्ने हिम्मत गर्न, माथिका किनभन्दा पनि माथिका अरू नै ऊर्जा मिल्नुपर्छ। अनि ऊर्जा बुझ्ने भाषा ऊर्जा मात्रै हो। तर ऊर्जाको भाषा सुन्न, बुझ्न र स्विकार्न बिहेका प्रस्ताव ल्याउने मान्छेसँग न समय हुन्छ, न ऊर्जा।

उनीहरूसँग त बस् एउटा पूर्वतयार हतियार हुन्छ- यस्ता यस्तालाई नाइँ भनेकी छ। कत्रो घमन्ड हो! हेरौंला, कस्तोसँग बिहे गर्दिरैछ!

प्रत्येकपल्ट बिहे प्रस्ताव नकार्दा, हरेक नाइँसँग झुन्डिएर आउने भूत हो यो- हेरौंला, कस्तोसँग बिहे गर्दिरैछ।

अनि यो भूतले, जस्तोसँग बिहे गरे पनि सातो खान छाड्दैन।

जो सुकैसँग बिहे गर, बिहेकै दिन कानेखुसी गर्छ- त्यस्तो गुनैगुनले भरिएकोलाई लत्याएर, यस्तो घुनैघुन भएकोसँग बिहे गरिछे!

भूत सानो आवाजमा सुनिनेगरी खासखुस गर्छ।

हाम्रो समाजमा आफ्नो जोडीलाई जीवनसाथी भन्नु जति महत्वपूर्ण आवश्यकता हो, ती जोडी साँच्चै साथी बन्नु उति नै गौण कुरा रहेछ। अझै पनि बिहे नगर्दै राम्रो साथी बन्नुपर्ने जरूरत बिहेको पहिलो प्राथमिकता होइन।

हाम्रो लागि एक नम्बर- टन्न सम्पत्ति।

दुई नम्बर- मिल्दो कुलघरान।

अनि तीन नम्बर- सुहाँउदो रूप।

यति तीन कोटा पुर्‍याएपछि जो पनि, जसका लागि पनि योग्य वर बन्ने परीक्षामा पास हुन्छ। अझ घरको काम पनि ‘सघाइदिने’ अनि जाँडरक्सी मुखै नलाइदिने हो भने त विशिष्ट श्रेणी! ओहो, अब त फुत्किनै भएन।

एकपटक मैले यस्तै फुत्किनै नहुने प्रस्तावलाई नाइँ भनेकी थिएँ। मुख्य कारण त बिहेको योजना नहुनु हो। अर्को चाहिँ, प्रस्ताव नआउँदै फेसबुकमा हाम्रो सामान्य चिनजान थियो। मलाई अलिअलि बोल्दै थाहा भइहाल्यो, हाम्रो कुरा ठ्याम्मै मिल्दो रहेनछ। मेरा लागि गीत सुन्नु बाँच्नु बराबर हो, उहाँका लागि गीत समय कटाउने मेलो रहेछ। मेरा लागि लेख्नु मेरो धर्म हो, उहाँलाई मैले यसो रूचि पूरा गरिरहेको मात्रै लाग्ने रहेछ।

यति थाहा पाएपछि जति सर्वगुणी भए पनि मैले उहाँलाई आफ्नो लागि ‘ठीक’ देख्न सकिनँ। कसैगरी मन खोलेर बोल्न सकिनँ। बुझिहालेँ, म उहाँका लागि ‘ठीक’ छैन।

खैर, त्यो बेला त ममा नाइँ भन्ने भार थिएन। घरमा बाको सिद्धान्त छ- छोरो जन्मेपछि छोरी जन्मेकी, त्यसैले पहिले बुहारी अनि बल्ल ज्वाइँ।

यसपालि यो सिद्धान्तले बचायो। तर दादाको बिहेपछि यस्तै प्रस्ताव आयो भने, मैले नाइँसँगै दस पाना लामो व्याख्या पेस गर्नुपर्नेछ।

स्पष्टीकरण नम्बर १- बूढा भनेको बूढा हुन्छ, साथी किन हुनुपर्‍यो?

स्पष्टीकरण नम्बर २- कस्तो हुन्छ र साथी भन्या?

स्पष्टीकरण नम्बर ३- अनि के प्रेम भएन भने बिहे नै नगर्ने?

स्पष्टीकरण नम्बर ४- राम्रो मान्छे छ भने, मिलाउन खोजेपछि मन मिल्दैन?

कति मान्छेलाई के-के भन्नु, अहिल्यै सोच्दा पनि चिटचिट पसिना आउँछ।

एकचोटि यस्तै प्रसंगमा अलिकति स्पष्टीकरण दिन खोजेको सम्झिन्छु। एकजना भिनाजुले मेरो कुरा भुइँ पुग्न नपाउँदै भूतको छाया फ्याँक्नुभयो, ‘सब गुण मिलेपछि जाबो एक-दुई कुरा मिलेन भन्दैमा साथी-पाथीको बहानाले कसैले नाइँ भन्छ? हेरौंला, कस्तोसँग बिहे गर्दिरैछौ!’

अब म कसरी बुझाऊँ, जुन कुरालाई उहाँले सबै गुण मिलेपछि भन्दै अतिरिक्तमा जोड्नुभएको छ, त्यो मेरो पहिलो प्राथमिकता हो।

म जोसँग गीतकै कुरा गर्न सक्दिनँ, ऊसँग दिनरात केको कुरा गरौं? कस्तो समय बिताऊँ?

जोसँग लेखेको खुसी नै बाँड्न सक्दिनँ, उसैको नाममा जिन्दगी कसरी लेखूँ?

अनि जसकी साथी नै बन्न सक्दिनँ, उसलाई जीवनभर साथ कसरी दिन सक्छु?

भिनाजुको तराजुले सम्पूर्ण नापेको मान्छे, मलाई अपूर्ण लाग्न सक्छ। म आफैं अरू कसैको तराजुमा हलुका हुन सक्छु। हरेक मान्छे आफ्नो व्यक्तिगत तराजु ल्याएर जन्मिएको हुन्छ। सबै मान्छेलाई एकै तराजुमा राखेर नाफा-घाटा हेर्दै निर्णय गर्नलाई, जीवनसाथी रोज्नु सामान किनेको त होइन नि!

तपाईंलाई त के छ र भिनाजु, भोलि मैले तपाईंले ‘कुरूप’ देख्ने केटासँग बिहे गरेँ भने, फ्याट्ट भन्नु हुन्छ- पैसावाला भएपछि रूप किन चाहिन्थ्यो!

फेरि कोही देखिने ‘सुन्दर’ सँग बिहे गरेँ भने, त्यो बेला पनि गिज्याउन छाड्नु हुन्न- त्यही त, केटीलाई त्यति अनुहार मात्रैले पुग्ने रहेछ!

अनि तपाईंले रूपवान, धनवान केही नमान्ने केटाको प्रेमले तानेर बिहे गरेँ भने, अर्को भूत गलल हाँस्छ- न रूप न धन। के हेरेकी होला! केटीको त बुद्धि पनि घुँडामै हुन्छ भन्थे, हो रहेछ!

ऊ र मेरा नदेखिने कुरा मिलेको म भन्दै, देखाउँदै हिँड्दिनँ। ऊ र मेरो मन मिल्यो होला, तपाईं सोच्न चाहनु हुन्न। तपाईंले ‘कस्तोसँग बिहे गर्दिरैछौ’ भन्दै पर्खेको मेरो मान्छे जस्तो भए पनि तपाईंका आँखाले केही न केही खोट भेट्टाउने पक्का छ।

जातको सर्त, रूपको सर्त, धनको सर्त, गोत्रको सर्त, भेगको सर्त, सबै सर्त सह्य हुनेलाई साथी बन्नुपर्ने सर्त राख्नेबित्तिकै सर्तवाला मान्छे घमन्डी लागिदिन्छ। अझ कतिको तर्क हुन्छ- राम्रो मान्छेसँग सँगै बसे माया लागिहाल्छ नि, साथी पनि भइ हालिन्छ नि!

झट्ट यो कुरा ठीकै जस्तो सुनिन्छ। तर केही मान्छे हुन्छन् नि, सबथोकमा गज्जब। पढाइ बबाल, रूपै बबाल, बोली पनि मिस्रीजस्तो। सर्वगुण सम्पन्न। हामीले यस्ता कति मान्छे चिनेका हुन्छौं। तर के ती सबै मान्छे हाम्रा मिल्ने साथी हुन्छन्?

हाम्रो मिल्ने साथी त हामीजस्तै हुन्छ। अरूलाई उरन्ठ्याउलो लाग्छ, हामीलाई मिजासिलो। अरूलाई घुसघुसे लाग्छ, हामीलाई मन बिसाउने चौतारी। अरूका लागि पट्यारलाग्दो मान्छे, हाम्रो हाँसोको भकारी।

कुनै एउटालाई धनी, सुन्दर, बाहुन लागेको मान्छे अर्कोका लागि पनि धनी, सुन्दर, बाहुन नै हुन्छ। तर एउटालाई कर्णप्रिय संगीतजस्तो लाग्ने स्वर अर्कोलाई सजिलै कर्कश हल्ला लाग्न सक्छ। दोष न स्वरको हो न हल्ला सुन्ने कानको।

एउटै मान्छे कसैको भगवान हुन्छ, कसैको दुश्मन। बस् जो जीवनसाथी बन्छ, ऊ आफ्नो चाहिँ भगवान होस्। उसले आफूलाई चाहिँ देवी मानोस्। उसलाई भगवान सोचेर सबथोक सुनाउन सकियोस्। अनि आफू देवी बनेर उसको निधार छुन सकियोस्।

जब दिनभरि देख्नुपर्ने अनुहार, रातभरि बाँड्नुपर्ने शरीर नै आफ्नो सबभन्दा आनन्दको ठाउँ हुँदैन, तब त्यो अनुहार संसारकै सुन्दर होस्, शरीर जति खाइलाग्दो होस्, जात मिलेर नाक ठ्याक्कै आफ्नै जस्तो होस्, ती कुराको के अर्थ रह्यो र?

अहिले मेरा थरिथरिका साथी छन्। कसैलाई परिवारका दुःख निस्फिक्री सुनाउँछु। कोहीसँग भेट भयो कि दुवै चुपचाप आफ्ना मनपर्ने गीत सुन्दै बस्छौं। कसैसँग सिनेमाको रङमा पोतिन मजा आउँछ। कोहीसँग बसेर समाज सुधार्ने सपना देख्छु अनि केही छन् जोसँग अर्थै नलाग्ने व्यर्थ कुरा गर्दै उड्छु।

बिहेबाट मेरो आश, माग, सर्त, आवश्यकता अरू केही होइन। बस् मैले एउटै मान्छेसँग यी सबैथरि कुरा निसंकोच गर्न पाऊँ। उसलाई आफ्नो घर लगेर गुन्द्रुक/सिन्की खुवाउन परेको दिन मलाई धक नलागोस्। अनि उसलेभन्दा मैले धेरै कमाएको दिन उसलाई थकथक नलागोस्।

जब जीवनसाथी साथी हुँदैन तब बोलचाल त हुन्छ, इमानदार गफ गर्ने विषय बाँकी रहँदैन। आँखा खोल्नेबित्तिकै जसको अनुहार देख्नुपर्छ, ऊसँग त मान्छे ऐना झैं इमानदार हुनुपर्ने। मन खोलेर बोल्न सक्नुपर्ने। तर देखेको कुरा हो, हाम्रा कति भाउजूहरू मनभरिको बह पोख्न माइती, तीज, संगिनी पर्खिन्छन्। दाइहरूलाई दुःख सुनाउँदैनन्। किनकी दाइ उनीहरूका साथी होइनन्।

कति दिदीभिनाजु, दाजुभाउजू सँगै सुतिरहेका हुन्छन्। तर एकअर्कालाई यौनांगको घाउ देखाउन नसक्ने रहेछन्। हर दोस्रो दिन यौन सम्बन्ध राखिरहँदा पनि यौन समस्या सुनाउने आँट भने नआउने रहेछ। नन्द-भाउजूको कुरा हुँदा भाउजूले ‘तपाईंको दाइलाई भनेकै छैन नानी, तर यो सेतो पानीले साह्रै सताएको छ’ भनेका बेला यो कुरा याद गर्नु हुन्छ?

भिनाजु-दाइहरूका पनि यस्ता थुप्रै दुःख छन् जुन अफिसका साथीलाई मात्रै थाहा छ। दिदी-भाउजूलाई अत्तोपत्तो छैन। किनकी उनीहरूले आफ्ना सर्वगुण सम्पन्न श्रीमतीमा हितैषी चाहिँ भेटेका छैनन्।

बेलाबेला त लाग्छ, यो ‘घर र कामलाई अलग्गै राख्नुपर्छ’ भन्ने धारणा पनि जोडी साथी बन्न नसकेको कमजोरी लुकाउने बहाना होला। नत्र आधा दिन बिताउने कार्यालयको कुरा अर्को आधा दिन बिताउने मान्छेसँग किन छुट्याउनु पर्ने?

‘अफिसको झगडाको कुरा गर्‍यो, श्रीमतीलाई वास्तै छैन।’

– के भयो त! खाना त मीठो पकाउँछिन् नि।

‘कामको उपलब्धिको कुरा गर्‍यो, भनेको कुरा श्रीमानको एउटा कानमा पस्छ अर्को कानबाट फुस्किन्छ।’

– के भयो त? जोडी त सुहाउँछ नि।

जिन्दगी भनेको यही त हो। घर चलाउने हो। सम्झौता गर्ने अनि जति छ त्यतिमा रमाउने। यही सोचेरै कति जोडीका दुःख र खुसी बेजोडा भएर मनभित्रै एक्लै मर्दा हुन्। अनि उनीहरूलाई आफू दिनरातै बेजोडा लास बोकेर बाँचेको थाहासम्म हुँदैन होला।

हाम्रो लागि पूजाआजा-बिहेमा मिलेको जोडी भनेर हाँसीखुसी हिँड्दासम्म, फेसबुकमा चिटिक्क जोडी परेर प्रेमिल फोटो राख्दासम्म बन्द कोठामा साथी भए पनि नभए पनि केही फरक पर्दैन। सम्झौताका कुरा यसरी गरिन्छ मानौं कसैले हामीलाई ‘ल यो पृथ्वीमा बाँच्, बिहे गर्, छोराछोरी जन्मा अनि मात्रै तेरो सजाय सकिन्छ’ भनेर जबरजस्ती पठाएको हो।

बिहेको फोटोमा हेर्दा सुहाउने अनि आमाबा, आफन्तीको मन दंग बनाउने सम्बन्ध जोडेर कोही सुखी त होला, तर के खुसी हुन्छ? के सुखी र खुसीमा केही फरक छैन?

एक्लो जिन्दगी आफैंमा सुन हो, त्यसलाई सुगन्धित बनाउन बिहे गर्ने हो नि होइन? कि बरू पिटियोस्, थिचियोस्, बरू सुन ‘सुन’ नै नरहोस् मात्र पहेँलो रहे पुग्छ?

जिन्दगी बाँच्नका लागि खुब छोटो छ। अनि कटाउनका लागि बहुत लामो। आफ्नो जिन्दगी कटाउने कि बाँच्ने? कम्तीमा यति निर्णय जसको जिन्दगी हो उसैले गर्न पाउनुपर्छ। बिना कुनै स्पष्टीकरण। बिना कुनै भूतको डर।sorce

(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)

ट्विटरः @SrijanArt

प्रकाशित मिति: सोमबार, असार २८, २०७८, १८:००:००

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0