बा! अब त सासको जोहो गर्नुस्

बा!
सबैले हार मानेका तपाईको पुनर्बहालीमा
उत्सव मनाउन सकिनँ।
माफ पाऊँ
बेला रैछ
र त, हजूरका माननीयहरुभन्दा
एक सिलिन्डर ‘सास’ मूल्यवान भयो।
जति रुपैयाँमा तपाई एक थान माननीय किन्नुहुन्छ वा बेच्नुहुन्छ,
त्योभन्दा महंगोमा पनि एक सिलिन्डर ‘सास’ पाइँदैन।
त्यसैले मूल्यवान चिजको जोहो गर्नुस्
‘सास’को जोहो गर्नुस् बा!

‘सास’ फेर्न मात्र हैन, तपाईको जिमिदारी जोगाउन
अंकहरु बाँचे पो हिसाब मिल्छ
बिन्ती बा!
अनुनय गर्नुस्
विनयी हुनुस्
ज्ञानी त हुनुहुन्छ नै
तर, ‘सास’को जोहो गर्नुस्।

विचार गर्नुस त!
तपाईं र तपाईंका माननीय-खलकहरुलाई
छानी-छानी फोक्सो, कालेजो, मिर्गौला।
कठै! यिनले त सास मागेका हुन्,
न कलेजो, न मुटु, न मिर्गौला।

‘हाड र मासुको मात्र इमानको हात छातीमा राखेर’
तपाईले पनि विचार गर्नुस्
अनुग्रहित हुनुस्
यो राजनीति वा गणित मात्र हैन होला,
जसका कारण तपाई फेरि बहाली हुनुभो
यो नियति होला
सायद, प्रयाश्चित पनि
कृपा गर्नुस बा!
‘सास’को जोहो गर्नुस्।

सबै ‘कर्म’को हिसाब हुन्छ रे!
तलका सबै गणित मिलाउँदा मिलाउँदै,
माथिको हिसाब बिर्सिएला।
मार्ग भिन्न-भिन्न भएपनि, बिसर्जन सबैको एउटै हो
कालो प्लास्टिकको झोलामा निस्सासिएर बसेका
ती प्रिय आत्माहरुको कसम
आफ्नाहरुले चढाएको एक घुट्को पानी खान नपाई
जल्नु परेका ती प्यासा लासहरुको कसम
बा!
अब त ‘सास’को जोहो गर्नुस्।

पूर्वजन्ममा कसैको ऋण खानु भएको थियो होला,
वा आर्को जन्मको लागि कसैलाई ऋण लगाउँदै हुनुहुन्छ
धन्य हुनुस्
हुन त हजुरलाई ‘ईश्वर’ के ‘ प्रतिज्ञा’ के
आफैले आफैँलाई एउटा अर्को मौका दिनु भएको छ
‘त्यो पर्दैन’ र ‘यो पर्दैन’ नभनी, अब पुण्यमार्ग रोज्नुस्
बा!
अब त कसैगरी ‘सास’को जोहो गर्नुस्।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८, १७:१६:५५शाभार सेतोपाटी डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0