हवाई यात्रा सुरक्षित छ, खुलै राखौं

अर्थतन्त्र चलायमान राख्न पनि हवाई यात्रा जरुरी छ

कोरोना कहर जारी छ। पहिलेभन्दा अझ बढी क्षति भइरहेको छ। अधिकांश अस्पताल भरिभराउ छन्। बेड पाउनै मुश्किल छ। बेड पाउन ‘एउटा मरेपछि अर्को बाँच्ने’ जस्तो भइसक्यो।
यो किन र कसरी भयो? कहाँ चुक्यौं हामी? के हाम्रो तयारी पुगेन?

यो त पहिलो पाटो भयो। यसको जवाफ सरोकारवालाले दिनु नै उचित होला।

दोस्रो पाटोमा हामी स्वयं नेपाली जनता त छैनौं?

मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, संक्रमणरहित सरसफाइ इत्यादि उपाय किन हामीले दैनिकीमा अवलम्बन गरेनौं? जनजागरण अभियान व्यापक नै छ। सुरक्षित उपायहरू हामी सबैको कानसम्म पुगेकै हुनुपर्छ। तर पनि किन यस्तो हेलचेक्रर्‍याइँ?

यो लापरबाहीको परिणाम जगजाहेर नै छ।

तर अझै ढिलो भएको छैन। हामी सबै सचेत हुनैपर्छ। खोप बढाउनैपर्छ। किनकी अनुसन्धानहरूले पनि सन् २०२४ सम्म यस्तै अवस्था रहने अनुमान गरेका छन्।

हामीले अहिलेसम्म झन्डै साढे ३१ लाख डोज खोप पाइसके पनि लगाउनेको संख्या कम छ। अहिले आएर भिडभाड बढी भयो भनेर खोप कार्यक्रम स्थगित गरियो। यो औचित्यहीन छ। यस्तो बेला खोप कार्यक्रम अझ विस्तार तथा विकेन्द्रीकरण गरी व्यापक बनाइनुपर्थ्यो। खोप जति प्रभावकारी विकल्प अरू केही हुनै सक्दैन। इजरायल, अमेरिकामा खोप कार्यक्रम प्रभावकारी देखिँदैछ। त्यहाँ करोना पूर्ववर्ती जीवनशैलीमा फर्किन थालेका छन्।
कोरोनाले सामाजिक गतिविधिसँगै आर्थिक गतिविधिलाई पनि संकुचित गराएको छ। कृषि, रोजगारी, आम्दानीमा पनि उत्तिकै प्रभाव परेको छ। कच्चा पदार्थ कमीले विभिन्न कलकारखाना सुस्ताएका छन्। कतिपय बन्द गर्नुपर्ने अवस्थामा आइसकेको छ। यसलाई सरकारले तुरून्तै सम्बोधन गर्नुपर्ने देखिन्छ।

पहिलो कोभिड लहरमा करिब छ महिना आन्तरिक हवाई सेवा बन्द रह्यो। आम्दानी शून्य मात्रै होइन, जहाज रखराखवमा हवाई कम्पनीहरू करौडौं खर्चिन बाध्य भए।

यस अवधिमा आन्तरिक हवाई सेवाले करिब नौ अर्ब गुमाए। सयौं कर्मचारीको तलब कटौती भयो। कतिपयले रोजगारी नै गुमाए। आम्दानी घट्नु भनेकै भएको गरिबी बढ्नु हो।

अब फेरि दोस्रो लहरको सुरूआतसँगै निषेधाज्ञा जारी भएको छ। यो लेख लेख्दासम्म १४ जिल्लामा निषेधाज्ञा भइसकेको छ, अझै कतिपय जिल्ला थपिनै क्रममा छन्। निषेधाज्ञासँगै आर्थिक गतिविधि फेरि संकुचित हुने निश्चित छ।

सुरक्षित आउजाउः

निषेधाज्ञापछि सर्वसाधारण आफू अनुकूल ठाउँ वा वासस्थान फर्किनु स्वभाविक हो। यसपालि सरकारले हवाई सेवा बन्द नगर्नाले केही आश पलाएको छ। संसारभरि नै हवाई सेवा निरन्तर छ। अन्तर्राष्ट्रिय अभ्यासले पनि अन्य सवारीको दाँजोमा हवाई सेवा सुरक्षित रहेको देखिएको छ। अरू सार्वजनिक यातायात साधनमा जति प्रयास गर्दा पनि भिड कम गरी संक्रमण जोखिम घटाउनु गाह्रो काम हो। हवाई सेवामा यो मापदण्ड सजिलै पालना गर्न सकिन्छ।

छिमेकी मुलुक भारतमा दैनिक संक्रमित संख्या तीन लाख पार गर्दा पनि हवाई उडान रोकिएको छैन। अझ जापानमा कोरोनाको चौथो लहर सुरू भए पनि उडान रोकिएन। बरू उडान कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भन्ने मुख्य कुरा रह्यो।

नेपालका आन्तरिक उडान सुरक्षित छन्। अझ बुद्ध एयरले सुरूकै दिनदेखि अन्तर्राष्ट्रिय संस्थाको मापदण्ड बमोजिम संक्रमणरहित हवाई सुरक्षा निर्देशिका बनाएको थियो। नागरिक उड्डयन प्राधिकरणको निर्देशिकामा रहेर महिनौंसम्म पूर्वअभ्यास पनि गरेको थियो। जसको नतिजा निकै राम्रो रह्यो।

पछिल्ला दिनमा आन्तरिक विमान सेवा प्रयोग गर्ने यात्रुको दैनिक संख्या १५ हजार पार गर्न थालेको थियो। बुद्ध एयरले मात्रै पछिल्ला दिनमा दैनिक आठ हजारसम्म यात्रु बोकेको रेकर्ड छ। आर्थिक गतिविधिमा मानिसको आउजाउलाई प्रमुख कारकको रूपमा लिइन्छ। तसर्थ हवाई उडानले तत्कालको समयमा थोरै भए पनि महत्वपूर्ण भूमिका खेलेको छ।

अबको बाटोः

निषेधाज्ञासँगै सुरक्षित तरिकाले बैंक, उद्योगधन्दा चलाउनुपर्छ अवधारणा निकै स्वागतयोग्य छ। यसका लागि सबै रोजगारमुखी उद्योगी व्यवसायी संक्रमणरहित कार्यसम्पादन तथा रोजगारीमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

बजेट आउने बेला भएको छ। सबै तप्काले आश गरेका छन्। सर्वसाधारणले महँगी नियन्त्रण, वृद्धवृद्धाले भत्ता वृद्धि, कर्मचारीले तलबमान वृद्धि त व्यापारीले विभिन्न शुल्क मिनाहादेखि ऋण कर्जामा सहुलियत खोज्नु स्वभाविक हो।

यसै पनि पहिलो लहरले थलिएको हाम्रो अर्थतन्त्र कोरोनाको दोस्रो लहरसँगै ऋणात्मक भएको छ। दीगो आर्थिक पुनरूत्थानका लागि भए पनि सरकारले सावधानीपूर्वक आर्थिक गतिविधि खोल्नैपर्छ।

एसियाली विकास बैंकले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर ३.८ प्रतिशत मात्र हासिल गर्न पनि अब अर्थतन्त्र चलायमान राख्नुपर्छ। निषेधाज्ञाले हरेक आर्थिक सूचकांक नकारात्मक हुने पक्कै छ। तसर्थ राष्ट्रिय अर्थतन्त्र चलायमान राख्न सुरक्षित तरिकाले उद्योग व्यवसाय सञ्चालन हुनुपर्छ।

अनलाइन प्रविधि व्यापक प्रयोग हुनुपर्छ। कार्यालयमा रहेका पोकापन्तुरा, फाइलका ढड्डालाई अनलाइनमा ढाल्नुपर्छ। देशभरी करोना भाइरसबाट संक्रमणरहित आवतजावतको व्यवस्था हुनुपर्छ। जुन आजको दिनमा आन्तरिक हवाई सेवाले स्थापित गरिसकेको छ।

फेरि पनि नबिर्सौं, आजका दिनमा कोरोनाविरूद्ध लडाइँमा सरकार होइन, आममानिस नै निर्णायक हो। नियन्त्रण गर्न सक्ने हामीले नै हो। यो नियन्त्रणबाहिर गए, दुःख पाउने पनि हामीले नै हो। त्यसैले, आफ्नो जिम्मेवारी वहन गर्न तपाईं हामी तयार हो कि होइन?
शाभार सेतोपाटी डटकमबाट

(वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका प्रबन्ध निर्देशक हुन्)प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८, १६:३१:००

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0