‘वैज्ञानिक प्रमाणमा आधारित निर्णय र भारतसँग सहकार्य हुनुपर्छ’

कोभिड–१९ महामारीको दोस्रो लहरसँग नेपाल जुधिरहेको छ । स्रोत–साधनको अभावमा दिनहुँ दर्जनौं बिरामीको ज्यान गइरहँदा सरोकारवालाहरू चिन्तित छन् । कतिपय सरोकारवाला तथा समूहले आफ्ना नागरिकको जीवन सुरक्षा गर्न नसकेको भनेर सरकारप्रति आक्रोश पोखिरहेका छन् भने कतिपयले नागरिकले पनि आफ्नो दायित्व पूरा नगरेको बताएका छन् ।

यस्तै केही सरोकारवालाहरूले नेपालले आफ्नो स्रोतसाधनले यस महामारीलाई थेग्न नसक्ने हुनाले अन्तर्राष्ट्रिय सहयोग माग्न ढिला गर्न नहुने पनि बताएका छन् ।

तर, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव अझै पनि नेपालसँग महामारीसँग जुध्न धेरै सबल पक्ष र अवसरहरू रहेको ठान्छन् । अनलाइनखबरसँगको इमेल अन्तर्वार्तामा उनले सरकारको आलोचना गरेका छैनन् । तर सूक्ष्म रूपमा सरकारलाई केही महत्त्वपूर्ण सुझाव दिएका छन् ।

जस्तैः हरेक निर्णय वैज्ञानिक तथ्य र प्रमाणमा आधारित हुनुपर्छ र भारतसँगको सहकार्यमा मात्र यो महामारीको असर कम गर्न सकिन्छ । प्रस्तुत छ, पाण्डवसँग अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले गरेको इमेल अन्तर्वार्ताको सम्पादित अंश :

तपाईंले नेपालको अहिलेको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? विद्यमान स्वास्थ्य सङ्कट व्यवस्थापनमा नेपालसामु रहेका चुनौती र अवसर केके होलान् ?

कोभिड–१९ विश्वकै लागि एउटा लामो सङ्कट हो । सार्वजनिक स्वाथ्य सङ्कटका रूपमा शुरु भएको यो समस्या हाल सामाजिक सङ्कटका रूपमा विस्तार भएको छ । यसमा नेपाल पनि अपवाद रहेन । हाल हामी नेपालमा अर्को लहर सामना गर्दैछौं, जसलाई ‘दोस्रो लहर’ भनेर सामान्यीकृत गरिएको छ । यससँगै केही हामीलाई पहिल्यै थाहा भएका र केही नयाँ चुनौती आएका छन् ।

स्वास्थ्य प्रणालीसँग सम्बन्धित नेपालले भोगेका चुनौती परिचित नै छन् । यसमा सबैभन्दा महत्त्वपूर्ण चुनौती सङ्क्रमणको विस्तारलाई रोक्नु हो ।

दोस्रो, सकेसम्म धेरै मानिसलाई सुरक्षित राख्नु हो । सङ्क्रमणको जालो (चेन) तोड्नका लागि जनस्वास्थ्य सुरक्षासम्बन्धी उपायहरूलाई कडा रूपमा पालना गर्न जरूरी छ । खोपको स्वीकार्यता उच्च रहेको सुनिश्चित गर्नु अर्को जरूरी काम हो । सङ्क्रमणको जोखिममा रहेका मानिसको परीक्षण तथा सम्पर्क पहिचान (कन्ट्रयाक्ट ट्रेसिङ) गरी क्वारेन्टिनमा राख्नु अनि सङ्क्रमण पुष्टि भएका वा बिरामी भएकाहरूलाई आइसोलेसनमा राख्नु पनि महत्वपूर्ण छ ।

विगतका दशकहरूमा स्वास्थ्य प्रणालीमा भएको अपर्याप्त लगानीको प्रतिफल नै दुर्भाग्यवश तरिकाले कोभिड–१९ को सङ्कटका रूपमा देखिएको संसारका विभिन्न देशले महसूस गरिरहेका छन् । तर, यहाँ केही अवसर पनि छन् । अब कोभिड–१९ सँग जुध्दै गर्दा हामीले सबल स्वास्थ्य प्रणाली कसरी निर्माण गर्ने भनेर अत्यन्त गम्भीर रूपमा नै सोच्नुपर्नेछ, ताकि यसले भविष्यमा यस्ता सङ्कटहरूको सामना गर्न सकोस् ।

सङ्क्रमणको जालो (चेन) तोड्नका लागि जनस्वास्थ्य सुरक्षासम्बन्धी उपायहरूलाई कडा रूपमा पालना गर्न जरूरी छ । खोपको स्वीकार्यता उच्च रहेको सुनिश्चित गर्नु अर्को जरूरी काम हो । सङ्क्रमणको जोखिममा रहेका मानिसको परीक्षण तथा सम्पर्क पहिचान (कन्ट्रयाक्ट ट्रेसिङ) गरी क्वारेन्टिनमा राख्नु अनि सङ्क्रमण पुष्टि भएका वा बिरामी भएकाहरूलाई आइसोलेसनमा राख्नु पनि महत्वपूर्ण छ ।
मलाई लाग्छ नेपालका लागि कठिनाइ नौलो कुरा होइन । यहाँका मानिसले बारम्बार कठिनाइलाई जितेका छन् । तर अहिले हामीले वैज्ञानिक प्रमाणमा आधारित भई सोच्नु तथा निर्णय गर्नु अनि तिनको मिहिनेतपूर्वक पालना गर्नु महत्त्वपूर्ण छ ।

तर अचेल संसारभरि कोरोनाभाइरसका नयाँ स्वरूप अनि डबल तथा ट्रिपल म्युटेसनबारे कुरा भइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको अध्ययन तथा बुझाइका आधारमा अहिले नेपालीलाई सताइरहेको भाइरस कस्तो प्रकारको हो ?

कोरोनाभाइरसका बी.१.६१७ र बी.१.६१८ नामका स्वरूप (भेरियन्ट) हरूलाई नै डबल म्युटेन्ट तथा ट्रिपल म्युटेन्ट भेरियन्ट भनिएको हो, जुन दुवै सर्वप्रथम भारतबाट जानकारीमा आएका हुन् । यो उही सार्स–कोभ–२ भाइरस हो, तर यसमा केही आनुवंशिक (जेनेटिक) परिवर्तन भएका छन्, जसलाई हामीले एल ४५२ आर, ई ४८४ क्यू तथा ई ४८४ के लगायतका सङ्केत दिएका छौं ।

यसमध्ये बी.१.६१७ भेरियन्टलाई डब्ल्यूएचओले ‘रुचिको भेरियन्ट’ (भेरियन्ट अफ इन्ट्रेस्ट) का रूपमा वर्गीकृत गरेको छ, किनकि कोषमा यसको सङ्ख्यामा वृद्धि हुने क्षमता बढेको हुनाले यसमा सङ्क्रमण बढाउने सामथ्र्य रहन्छ । यी दुवै भेरियन्टलाई ‘चासो दिनुपर्ने भेरियन्ट’ (भेरियन्ट अफ कन्सर्न) भनेर वर्गीकरण गर्नुपर्ने हो कि भनेर निर्धारण गर्न प्रमाणहरूको मूल्याङ्कन गरिरहेका छौं ।

नेपाल सरकारले हालसम्म नेपालमा बी.१.६१७ भेरियन्टको एउटा मात्र सङ्क्रमणको घटना (केस) पुष्टि गरेको छ । तर शुरुमा बेलायतमा जानकारीमा आएको बी.१.१.७ भेरियन्ट पनि नेपालमा फैलँदो छ ।

नेपालको प्राविधिक तथा व्यवस्थापकीय क्षमतालाई समेत विचार गर्दा यस्ता नयाँ–नयाँ भेरियन्टको सामना गर्नु चिकित्सकीय हिसाबले कत्तिको सम्भव छ ?

यी भेरियन्टहरू छुट्टै भाइरस होइनन्, उही भाइरस नै केही परिवर्तनका साथ देखा परेको हो । यसको चिकित्सकीय प्रस्तुति र व्यवस्थापनमा केही पनि फरक छैन । रोकथाम तथा नियन्त्रणका उपायहरू पनि उही हुन्, मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, भीडभाड नगर्ने, हातको सफाइमा ध्यान दिने लगायतका जनस्वास्थ्य र सामाजिक व्यवहारका उपायहरू । नेपालसँग यसका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय क्षमता छ ।

गत वर्ष हामीले तपाईंभन्दा अगाडिका डब्ल्यूएचओ नेपाल प्रमुख जोस भान्देलारसँग दुई पटक कुरा गरेका थियौं । नेपालमा सङ्कट नियन्त्रणका लागि क्वारेन्टिन र आइसोलेसन केन्द्रमा सुधार ल्याउनुपर्ने कुरामा नै उहाँ सधैं जोड दिनुहुन्थ्यो । त्यसपछिको यो एक वर्षमा नेपालले के कति प्रगति गरेछ, डब्ल्यूएचओको मूल्याङ्कन के छ ?

साझेदारहरूको सहयोग समेतका कारण नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत देशभित्र आउने तथा बाहिर जाने यात्रीहरूको परीक्षणका लागि उन्नत स्वास्थ्य डेस्क स्थापना गर्न सक्षम भएको छ । बन्दै गरेका दुई अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्तै सुविधा राख्नका लागि पहल गर्दै छ । साथै राष्ट्रियस्तरमा पारित ढाँचालाई नै स्थानीय सन्दर्भमा कार्यान्वयन गर्दै भारत र चीनसँग जोडिएका १३ प्रवेश विन्दुमा पनि यस्तो व्यवस्था हुँदै छ ।

यस्ता डेस्कको सञ्चालनका लागि आवश्यक जनशक्ति परिचालन भएका छन् । यात्रीहरूको सङ्ख्यामा हुने वृद्धिको व्यवस्थापनका लागि स्थानीय निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग साझेदारी भएका छन् । ती मार्फत हात धुने ठाउँ, शौचालय बनाइएका छन् । मास्क, नछोइकन ज्वरो नाप्ने यन्त्र तथा दर्ता र तथ्याङ्क व्यवस्थापनका लागि सूचनाप्रविधि सम्बन्धी साधनहरू व्यवस्था गरिएका छन् ।

यात्रीहरूको स्वास्थ्य अवस्था जाँच्नका लागि यिनीहरूको प्रभावकारी प्रयोग भएकै थियो, तर उपलब्ध सुविधाहरूले अहिले नेपाल–भारत सीमामा आएका यात्रीहरूको ठूलो संख्या व्यवस्थापन गर्नका लागि भने गाह्रो भएको छ । तर यसका लागि पनि व्यवस्था हुँदैछ र जिल्लामा समन्वय गर्ने निकायहरूको सहयोगमा, आवश्यक विभिन्न व्यवस्था गर्नका लागि साझेदारहरूबाट सहयोगको बन्दोबस्त हुँदैछ ।

सुरक्षित क्वारेन्टिन तथा आइसोलेसन सुनिश्चित गर्न विभिन्न निर्देशिकाहरू पारित भई वितरण गरिएका छन् भने संस्थागत क्वारेन्टिन र आइसोलेसन सुविधाको व्यवस्थाका लागि साझेदारहरूको सहयोग जुटाइएको छ । पैसा तिर्न सक्नेहरूलाई आवश्यक सञ्चालन मापदण्ड लागू गरी तोकिएका होटल तथा अन्य ठाउँमा राखिएको छ भने पैसा तिर्न नसक्ने वा घरमा पनि क्वारेन्टिन र आइसोलेसनको सुविधा नहुनेहरूलाई क्वारेन्टिन तथा आइसोलेसन किटमार्फत सहयोग गरिएको छ ।

तर केसको सङ्ख्या एक्कासी बढ्दा यस्ता सुविधाको माग पनि ह्वात्तै बढ्छ । यस्तो अवस्थाको व्यवस्थापनका लागि तीनै तहका सरकारहरूले एकआपसमा अनि अन्य साझेदारहरूसँग पनि सहकार्य गर्नुपर्छ ।

महामारीको पहिलो लहरमा झैं अहिले पनि समस्याको एउटा ठूलो हिस्साको मूल कारण भारतसँगको खुला सीमा र भारतमा रहेका प्रवासी कामदारको फिर्ती मानिएको छ । यस स्थितिमा सबैभन्दा प्रभावकारी नियन्त्रणको उपाय के होला ?

पहिलो लहरमा हाम्रो सुझाव जे थियो, अहिले पनि त्यही नै छ, प्रवेश विन्दुमा स्वास्थ्य जाँच, सङ्क्रमण पुष्टि हुनेहरूको आइसोलेसन, कन्ट्रयाक्ट ट्रेसिङमा सक्रियता र जोखिममा हुनेहरूको क्वारेन्टिन । यी सबै काम प्रभावकारी तवरमा हुनका लागि धेरै निकायले आपसमा समन्वय गर्नुपर्छ । यसैगरी, समुदायहरूले पनि जनस्वास्थ्य सुरक्षाका उपायको कार्यान्वयन भइरहेको सुनिश्चित गर्नुपर्छ । असुरक्षित सीमाका कारण तोकिएकाबाहेक अन्य नाकाबाट पनि मानिसको प्रवेश हुनसक्ने भएकाले सीमापार सहकार्य पनि आवश्यक छ ।

यी उपाय प्रभावकारी हुन्थे होला । तर दक्षिण एशियाली पृष्ठभूमिकै भएकाले तपाईंलाई यस क्षेत्रको सामाजिक, सांस्कृतिक तथा राजनीतिक स्थिति र सीमितताको राम्रोसँग ज्ञान छ । महामारीको व्यवस्थापनमा यस क्षेत्रका सबल तथा दुर्बल पक्ष के होलान् जस्तो लाग्छ ?

कोभिड–१९ का सन्दर्भमा हामीले सामना गरेको मुख्य चुनौती भनेको हामी हाम्रा जनस्वास्थ्य उपायहरूको आधारका रूपमा वैज्ञानिक प्रमाणलाई मान्न तयार छौं वा छैनौं भन्ने नै हो । कोभिड–१९ विरुद्धको लडाइँको जटिलतालाई गलत सूचना र भ्रामक समाचारले झनै जटिल बनाएका छन् । सम्बन्धित देशहरूले सूचनाको महामारी (इन्फोडेमिक) लाई छिट्टै र निर्णायक रूपमा सामना गर्नका लागि उपाय खोज्नुपर्छ ।

हाम्रो क्षेत्रमा, हाम्रो विकासको स्तरका कारणले हामीलाई स्वास्थ्य र अर्थतन्त्रबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता छ, अनि यस अवस्थामा हाम्रो रोजाइ कठिन भएको छ । यस्तो समयले गर्दा हामीले जीवनका विभिन्न पक्षमा व्यक्तिगत नेतृत्व सीप देखाई हाम्रा समुदायलाई संरक्षण प्रदान गर्ने नवीनतम समाधानहरू पत्ता लगाउनुपर्ने आवश्यकता रहेको छ ।

हुन त तपाईंलाई यो मुर्ख्याइँ प्रश्न लाग्न सक्छ । तर सबै जना यो महामारी कहिले सकिएला भनी कुरेर बसेका छन् । धेरै मानिसले खोपले समस्या समाधान होला भनी आशा गरेका थिए । खोप आयो, तर महामारीले अझै तहसनहस पार्दैछ । महामारीको अन्त्य गर्न अब चाहिं संसारलाई के चाहिएला ?

यस सङ्कटको शुरुवातदेखि नै डब्ल्यूएचओको महानिर्देशक डा. टेड्रोसले बारम्बार कोभिड–१९ लाई परास्त गर्न सदस्य राष्ट्रहरूबीचमा ऐक्यबद्धता हुनुपर्ने कुरामा जोड दिनुभएको छ । यस्तो ऐक्यबद्धता विभिन्न क्षेत्रमा हुनुपर्छः सूचना, प्राविधिक ज्ञान, सामग्री, खोप, अनुसन्धान इत्यादिको आदानप्रदान । मेरो पनि दृढ विश्वास छ कि यस्तो बहुआयामिक ऐक्यबद्धताले नै कोभिड–१९ को त्रासलाई परास्त गर्न सहयोग गर्छ ।

पहिलो लहरमा हाम्रो सुझाव जे थियो, अहिले पनि त्यही नै छ, प्रवेश विन्दुमा स्वास्थ्य जाँच, सङ्क्रमण पुष्टि हुनेहरूको आइसोलेसन, कन्ट्रयाक्ट ट्रेसिङमा सक्रियता र जोखिममा हुनेहरूको क्वारेन्टिन ।
हामीसँग कोभिड–१९ को रोकथाम गर्न सक्ने सुरक्षित तथा प्रभावकारी खोपहरू छन् । रोग निदानका लागि तीव्र गतिमा काम गर्ने यन्त्र उपकरण पनि छन् । सङ्क्रमणको घटना अध्ययन (केस इन्भेस्टिगेसन), कन्ट्रयाक्ट ट्रेसिङ, जोखिममा रहेकाहरूको क्वारेन्टिन र सङ्क्रमण भइसकेका वा बिरामी परेकाहरूको आइसोलेसन लगायतका जनस्वास्थ्य कार्यक्रम पनि छन् ।

हामीसँग सङ्क्रमण रोक्न वा कम गर्नका लागि मास्क, हातको सफाइ र भौतिक दूरीका उपाय पनि छन् । उपचारका लागि अक्सिजन तथा डेक्सामेथाजोन पनि छन् । अब हाम्रो जरूरी काम यी सबैको पहुँच विस्तार गरी सङ्क्रमण रोक्नु र जीवन बचाउनु हो ।

उपलब्ध स्रोत–साधनलाई निरन्तर र समतामूलक ढंगले उपयोग गर्‍यौं भने हामी यस महामारीलाई केही महीनामा नै नियन्त्रण गर्न सक्छौं । खोप एउटा महत्त्वपूर्ण र सशक्त साधन हो, यद्यपि यो एउटा मात्र साधन होइन । भौतिक दूरी, मास्क, हातको सफाइ, स्वच्छ हावाको उपलब्धता (भेन्टिलेसन), निगरानी, परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, आइसोलेसन, सहयोगी क्वारेन्टिन तथा करुणापूर्ण स्याहारलगायत सबै उपाय नै सङ्क्रमण रोक्न र जीवन बचाउनका लागि आवश्यक छन् ।

त्यसो भए नेपालले आगामी केही महीनामा के–के आशा गर्न सक्छ ? वा केकस्तो डर मान्नुपर्छ ?

डब्ल्यूएचओ एउटा प्राविधिक निकाय हो । हामी नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ लगायतका विविध विषयमा विश्वव्यापी प्रमाण तथा सल्लाह सुझाव उपलब्ध गराउँछौं । ती प्रमाण तथा सल्लाहलाई कसरी लिने भन्ने निर्णय गर्ने जिम्मा सरकारको हो । कोभिड–१९ सङ्कटको शुरुआतदेखि नै हामीले नेपाल सरकारलाई सहयोग गर्न हाम्रो सल्लाहसँगै मानवीय स्रोत र विभिन्न सामग्री पनि उपलब्ध गराएका छौं ।

अब कोभिड–१९ विरुद्धको लडाइँमा सबै एकीकृत हुने र वैज्ञानिक प्रमाणहरूमा आधारित भई निर्णय लिने आशा गर्न सकिन्छ ।

कोभिड–१९ प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?

हामी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग काँधमा काँध मिलाई काम गर्छौं र निरन्तर हाम्रा प्राविधिक ज्ञान तथा सुझावहरू आदानप्रदान गरिरहन्छौं । चाहे सरकारी, निजी वा गैरसरकारी किन नहुन्, देशका सबै संस्थाहरूले आ–आफ्ना स्रोतसाधनलाई एकीकृत गरी कोभिड–१९ महामारीविरुद्ध लड्न तिनलाई प्रयोग गर्न जरुरी छ ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

हामी सबै एक कदम अगाडि बढेर आफू र अन्यलाई सुरक्षित राख्नका लागि आआफ्नो कर्तव्य पूरा गर्नुपर्छ भनेर म सबैलाई सम्झाउन चाहन्छु । सबैलाई जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्न चाहन्छु । मास्क लगाऔं, आफ्ना हात बारम्बार धोऔं र भौतिक दूरी कायम गरौं ।यो खबर अन्लाईनखबर बाट शाभार गरीयको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0