‘खाना नै औषधि’ भन्ने गरिन्छ । सामान्य मान्छेलाई त सही खानपान जरुरी हुन्छ नै । त्यो भन्दा बढी बिरामीका लागि हुन्छ ।
जब कसैलाई रोग लाग्छ, उपचार गर्छन् । त्यसबेला उनीहरुले धेरै कुरामा सजगता अपनाउनुपर्ने हुन्छ । त्यसमध्ये मूख्य हो, खानपान । चाहे कुनै रोगले ग्रस्त होस् वा उपचार गराइरहेका होस्, उनीहरुका लागि औषधि जत्तिकै जरुरी हुन्छ सही खानपान ।
सही खानपान कस्तो हुनुपर्छ त ? यसको एउटा मात्र जवाफ हुँदैन । किनभने रोगअनुसार कसैले कुनै खानेकुरा बार्नुपर्छ भने कुनै खानेकुरामा थप जोड दिनुपर्ने हुन्छ । कति रोग यस्तो हुन्छ, जसमा कति खानेकुरा खानै हुँदैन । त्यसैगरी कति रोग यस्ता हुन्छ, जसमा कति खानेकुरा खानैपर्ने हुन्छ ।
त्यसरी रोग वा रोगीको आवश्यक्ता अनुसार कसरी खानपानको तालमेल मिलाउने त ?
हामीकहाँ यसबारे खासै ध्यान दिइएको छैन । अस्पताल वा चिकित्सकले पनि बिरामीलाई प्रष्ट रुपमा के–के खाने, के–के नखाने भनेर सुझाव दिदैनन् । यसले गर्दा उनीहरुलाई गरिएको उपचार प्रभावकारी नहुने मात्र होइन, कहिले काहीँ स्वास्थ्य स्थिती नै खराब हुनसक्छ ।
त्यसैले कुनैपनि बिरामी वा उपचार गरिरहेका व्यक्तिका लागि उपयुक्त खानपानको तालिका अपरिहार्य हुन्छ । तर, हामीकहाँ त्यस्तो व्यवस्था छैन । जनस्वास्थ्य जस्तो यति संवेदनशिल कुरामा राज्यको ध्यान पुगेको पाइदैन ।
जरुरी छ पोषणविद्
रोगले थलिएका, उपचार गराइरहेका वा उपचार गरी घर फर्किएका जो–सुकैका लागि खानपानका लागि उपयुक्त तालिका निर्धारण गर्नुपर्ने हुन्छ । रोगमुक्त हुन वा उपचार विधिलाई थप प्रभावकारी बनाउन सही खानपानले ठोस सहयोग गर्छ ।
त्यसैले उनीहरुका लागि पोषणविद्को परामर्श जरुरी छ, जसले के खाने, कति खाने, के नखाने भन्ने स्पष्ट बताइदिन्छन् ।
पोषण वा आहार विज्ञले रोग र शरीर अनुसार कुन खानाले के प्रभाव पार्छ, कति मात्रामा खानुपर्छ, कहिले खानुपर्छ भनेर सुझाउँछन् । सम्बन्धित व्यक्तिको शारीरिक आवश्यक्ता अनुसार कस्तो पोषकतत्व जरुरी छ र त्यो पोषकतत्व कुन कुन खानेकुुराबाट आपूर्ति हुन्छ भन्ने तालिका बनाइदिन्छन् ।
यद्यपि हाम्रो जस्तो मुलुकमा पोषण विज्ञको सेवा सर्वसुलभ छैन । त्यसैले रोगीहरुले पनि अन्धधुन्ध खानेकुरा खाइरहेका हुन्छन् । खानु नपर्ने खाना खाइरहेका हुन्छन्, खानुपर्ने खाना भने छुटाइरहेका हुन्छन् । त्यसो भए कसरी पोषण विद्को सेवा लिने त ? यसका लागि एउटै विकल्प हुनसक्छ, अस्पताल ।
अस्पतालमा पोषणविद्
खासमा हरेक अस्पतालमा पोषणविद् अनिवार्य हुनैपर्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्युनतम मापदण्डअनुसार प्रत्येक २५ शैयाको अस्पतालमा एक जना पोषणविद् हुनुपर्छ । तर, उदेगलाग्दो के छ भने ठूल–ठूला अस्पताल एउटै पनि पोषणविद् छैनन् ।
पोषणविद्ले् अस्पतालमा विरामीको खानपानबारे हेरचाह गर्ने, उपयुक्त खानाको तालिका बनाइदिने गर्छन् । साथसाथै भान्साको सरसफाई र खानेकुराको गुणस्तर पनि जाँच गर्छन् ।
किन जरुरी छ पोषणविद्
बिरामीको पोषक अवस्था ठिक राख्नको लागि स्वास्थ्यकर्मीको समूहमा पोषणविद हुनैपर्छ ।
कम तौल र कुपोषण भएका बिरामीलाई अन्य बिरामीको तुलनामा धेरै संक्रमण हुने गर्छ । त्यसैले उनीहरुका लागि त पोषकतत्व एकदमै अपरिहार्य हुन्छ, जुन कुरा पोषणविद्ले तय गरिदिन्छन् ।
मधुमेहको समस्या भएका व्यक्तिमा सुगर लेबल बढेको कारण अस्पतालमा नै भर्ना हुने अवस्था पनि आउन सक्छ । चिनीको मात्रा बढेकै कारण अन्य स्वास्थ्य समस्याको उपचार पनि राम्ररी हुँदैन । खानाको तालमेल मिलायो भने सुगर लेबल घट्छ त्यसैले मधुमेहको समस्या भएका व्यक्तिको हेरचाह गर्न पनि पोषणविद्को भूमिका महत्वपूर्ण हुन्छ ।
खानाको मात्रा र समय मिल्दा स्वस्थ्य जीवन जिउन सकिन्छ, जसले अस्पलाल र औषधि दुवै खर्च कम गर्छ ।
अस्पतालका चमेना गृहहरुले बिरामीको अवस्थाअनुसार खाना तयार पार्न र खानाको गुणस्तर र सरसफाइमा निगरानी गर्नका लागि पनि पोषणविद आवश्यक पर्छन् ।
हाम्रो जस्तो गरीब मुलुकले बिरामीले औषधि उपचारमा लगानी गर्न कठिन हुन्छ । यस्तोमा अहिले धेरै रोगहरू खराब खानपानको कारणले बढि रहेको छ । खराब खानपानको कारण निम्तने सक्ने रोगहरुको नियन्त्रणको लागि स्वास्थ्य परामर्श दिनको लागि पनि हरेक अस्पतालमा पोषणविद् हुन जरुरी छ ।
किरण तिवारी डाइटिसियन, भरतपुर अस्पताल चितवन शाभारः अनलाइन खबर बाट ।