आँखाको धेरैजसो समस्या औषधी र चस्माबाट समाधान हुन्छ ।

author
0 minutes, 0 seconds Read

बढ्दैछ बालबच्चामा आँखाको समस्या

अहिले उपचार सर्वसुलभ हुन थालेसँगै आँखासम्बन्धी समस्याको पहिचान पनि धेरै हुन थालेको छ । जसले आँखासम्बन्धी रोगका बिरामीको संख्या पनि बढेको छ । पहिले पनि आँखामा समस्या त उस्तै हुन्थ्यो तर पहिचानमा कठिनाइका कारण कम भएजस्तो लागेको हो । आँखा हाम्रो शरीरको महत्त्वपूर्ण तर संवेदनशील अंग हो । आँखाबिना जीवनको रंग नै हुँदैन । त्यसैले आँखाको हेरचाह गर्नु नितान्त आवश्यक छ । नवजात शिशुदेखि नै आँखाको उचित हेरचाह गर्नुपर्छ । जन्मिएको ६ महिनाभित्रै शिशुको आँखाको अनिवार्य परीक्षण गराउनुपर्छ ।

स्वास्थ्यको पहुँच नहुँदा, जनचेतनाको कमीले गर्दा उपचार गराउनेको संख्या न्यून हुन्थ्यो । समयमा उपचार नहुँदा समस्या झनै बढ्थ्यो । अहिले मानिस शिक्षित, चेतनशील, उपचारको पहुँच र पहिचान गर्न सकिने छिटो छरितो उपचार प्रविधि र स्वास्थ्य समस्या देखिने बित्तिकै अस्पताल लाने क्रम बढ्दो छ ।

त्यसैले बालबच्चाको आँखामा आउने समस्याको पनि धेरै पहिचान हुने गरेको छ । बालबालिकामा दूरदृष्टिको समस्या (टाढाको दृश्य देख्न नसक्ने), जन्मजात मोतीबिन्दु, जन्मजात संक्रमण, रेटिनोप्याथी अफ प्री–म्याचोरिटी, आँखा पाक्ने, आँखामा एलर्जी, सुख्खा हुने, आँखा बाङ्गो हुने समस्या धेरै देखिन्छ । यसैगरी अत्यधिक विद्युतीय ग्याजेट प्रयोग गरेका कारण कम्प्युटर भिजन सिन्ड्रोम जस्ता समस्या पनि देखिन्छ ।

आँखामा समस्या आउनुको कारण

बालबालिकाको आँखामा आउने समस्या प्रायः वंशाणुगत हुन्छन् । मोतीबिन्दु र दृष्टिदोष वंशाणुगत कारणले हुने समस्या हुन् । आँखाको समस्याले बाबुआमाले चश्मा लगाउँछन् भने शिशुमा पनि दृष्टिदोष हुन सक्छ । जसकारण बच्चैदेखि चश्मा लगाउनुपर्ने अवस्था आउन सक्छ ।

३६ साताभन्दा कम अवधिमा जन्मिएका, दुई किलोभन्दा कम तौलमा जन्मिएका शिशुमा रेटिना बिग्रने र पछि अन्धोपनको समस्या समेत देखिन सक्छ । त्यस्तै, रेटिनोप्याथी अफ प्री–म्याचोरिटीको केस अर्थात् प्रसूति गराउँदा आमामा गाइनोरिया र क्ल्यामिडिया जीवाणुको संक्रमण छ भने नवजात शिशुमा पनि सर्ने सम्भावना हुन्छ । यसको पनि समयमा उपचार नभएमा जटिलता निम्त्याउन सक्छ ।

समयमा उपचार नभए जटिलता आउन सक्छ

दृष्टिदोष र मोतीबिन्दुको समस्याको समयमा उपचार नभए दृष्टि नै गुम्न सक्ने जोखिम हुन्छ । जन्मेदेखि नै शिशुको आँखा कमजोर छ तर उपचारमा ढिलाइ भयो भने निको हुने सम्भावना अत्यन्त कम हुन्छ । सात वर्षको उमेरभित्र आँखाको उपचार गरे निको हुन सक्छ ।

 

 

 

लक्षण

बत्तीमा शिशुले नहेर्नु, जन्मिएको चार महिनासम्म आमालाई नहेर्नु, वस्तुलाई देखाउँदा नहेर्नु, छड्के आँखा देखिनु, सामान्यभन्दा भिन्न तरिकाले टाउको घुमाएर हेर्नु, आँखाको आकार प्रकारमा अस्वभाविक परिवर्तन हुनु, आँखाबाट आँसु बगिरहने, कचेरा आइरहनु, हिंड्दा लड्नु, राति आँखा नदेख्ने, बोर्डमा के लेखेको नदेख्ने वा कम देख्ने जस्ता आँखाको समस्याको लक्षण हुन् ।

उपचार

बालबालिकाको लागि सबैभन्दा राम्रो उपचार पद्धति चश्माको प्रयोग नै हो । धेरैजसो आँखासम्बन्धी समस्या चश्मा र औषधि उपचारबाट ठीक हुन्छ । मोतीबिन्दु, जलबिन्दु, आँखाको क्यान्सर भएकाहरुको भने शल्यक्रिया गरिन्छ ।

रोगअनुसारको आँखाको दृष्टि गुमेपछि फर्किन्छ कि फर्किंदैन भनेर निक्र्योल गर्न सकिन्छ । समयमा उपचार गर्दा १०० प्रतिशत अन्धोपन भएका ७५ प्रतिशत बालबालिकामा उपचारपछि निको हुने अध्ययनहरुले देखाएका छन् ।

आँखा स्वस्थ राख्न के गर्ने ?

जति छिटो उपचार त्यति राम्रो नतिजा आउने भएकाले जन्मिएको ६ महिनाभित्र शिशुको आँखा अनिवार्य परीक्षण गराउनुपर्छ । दुई किलोभन्दा कम तौल भएको, जन्मेको चार महिनासम्म पनि आमाको अनुहार हेर्न नसक्ने शिशु, बत्तीको प्रकाशलाई पछ्याउँदैन भने पनि समयमा उपचार गराएमा निको हुन्छ ।

बच्चालाई भिटामिन ए भएका खानेकुरा खुवाउने, तीन घण्टाभन्दा बढी बालबालिकालाई ग्याजेट चलाउन नदिने गर्नुपर्छ । जंकफुडले भिटामिन एको कमी हुने, आँखालाई सुख्खा बनाउने, रतन्धोको समेत जोखिम हुन सक्ने भएकाले सकेसम्म त्यसमा जोड दिनुहुँदैन । अनलाइन खबर बाट साभार गरिएको समाचार पढ्नुहोस ।

(डा. लिम्बू नेत्ररोग विशेषज्ञ हुन् ।)   

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *