विमान दुर्घटनामा ६८ जनाको मृत्यु, उद्घाटनको उत्सव नसकिंदै स्तब्ध पोखरा

0 minutes, 0 seconds Read

१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सीधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे ।

तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फर्क्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न जाँदा धुवाँको मुस्लो निकाल्दै आगो बलिरहेको रहेछ । जहाज आधा उँधो रहेछ, आधा त माथि जलिरहेको रहेछ’ गुरुङले भने, ‘यस्तो घटना मैले थाहा पाएको थिइनँ ।’

सेती नदीनजिकै घर भएका विकास बस्यालका अनुसार ठूलो आवाज निकाल्दै जहाज खोंचतिर बजारियो । खोंचबाहिरको डिलमा ठोक्किएपछि जहाजबाट केही मानिस उछिट्टिएको उनले देखेका थिए ।

यती एयरलायन्सको नाइन एन-एएनसी जहाज आइतबार विहान दुर्घटनापछि आगलागी भएर धुवाँको मुस्लोले पोखराको आकाश नै ढाकियो, दुर्घटनाको हल्ला बजारैभरि फैलियो र दगुर्दै मानिसहरु त्यतै जान थाले । सञ्चारमाध्यममा ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना भएको समाचारहरु पनि आउन थाले । एकैछिनमा ठूलो भीड पोखराको सेती खोंच आसपासमा देखियो ।

तर, उत्सवको माहोल नसकिंदै उद्घाटन भएको १५ औं दिनमा पोखरामा शोक परेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा उत्सव मनाएको केही दिनमै कालो दिन देख्नुपरेको स्थानीय सञ्जय कार्कीले बताए । उनले भने, ‘पोखरामात्र होइन, देश नै शोकमा डुबेको छ । आज देश/विदेशका धेरै आफन्तहरुको जीवनलीला सेतीमा डुबेको छ र सेतीमा पानी होइन, आँसु बगेको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन नै आइतबार दुर्घटनामा परेको ७२ सिटे जहाजबाट भएको थियो । जुन चालकले परीक्षण उडान भरेर विमानस्थलमा नियमित उडान सञ्चालन हुन सक्ने सन्देश दिएका थिए, तिनै अनुभवी पाइलट कमल केसीको नेतृत्वमा उडान भरेको जहाज दुर्घटना भयो । यो दुर्घटना नेपाली आकाशमा आन्तरिक उडान हुँदा भएको यो सबैभन्दा ठूलो हो ।

यती एयरकै जहाज गत वर्ष जेठ १५ गते पोखराबाट सोमसोम जाँदै गर्दा दुर्घटनामा परेर २२ जनाले ज्यान गुमाएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुँदै गर्दा यति छिट्टै त्योभन्दा भयानक दुर्घटनाको आशंका गरेका थिएनन् ।

यो दुर्घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपाली आकाश अझै सुरक्षित छैन भन्ने सन्देश गएको मुल्मी बताउँछन् । ‘नेपालको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा हवाइ सेवा सञ्चालन गर्नुपर्ने चुनौती रहेकै बेला यो दुर्घटना हुनु हाम्रा लागि अत्यन्त दुखद् हो’, मुल्मीले भने, ‘यो मानवीय त्रुटि हो वा हाम्रा जहाजहरु पुराना भएका हुन् ? त्यो गम्भीर अध्ययन होला ।’

पर्यटन व्यवसायी वासु त्रिपाठी दुर्घटनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यमाथि प्रश्न उठाएको बताउँछन् । ‘न मौसम खराबी छ, न टावरसँग कनेक्सन टुटेको छ । यस्तोमा कतै जहाजमै समस्या थियो भनेर अनुमान गर्न सकिन्छ’, त्रिपाठीले भने, ‘यसले उड्डयन क्षेत्रलाई प्रभावित पार्ने छ । त्योभन्दा ठूलो चुकाउन परेको मानवीय मूल्यको हिसाब छैन ।’

सरकार वा अधिकार प्राप्त निकायले केही दिनमै यी सबै घटना बिर्सने तर यसबाट शिक्षा नलिने स्थिति बारम्बार देखिएको उनी बताउँछन् ।

सन् २०१२ मे मा पनि गण्डकी क्षेत्रमै जहाज दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । २००२ अगस्ट मा पोखरामै सांग्रिला एयरको डीएचसी टि्वनअटर जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

एकातिर अहिले भएको दुर्घटनाले पोखरा स्तब्ध छ भने अर्कोतर्फ आन्तरिक उडानतफै अहिलेसम्मकै ठूलो दुर्घटना पोखरामै हुँदा यसले अन्तर्राष्ट्रिय उडान सञ्चालनमै कठिनाइ हुने हो कि भन्ने चिन्ता पनि छ ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *