६ वैशाख, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।
काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।source
More Stories
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग
भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा