४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरुसँग गठबन्धन गरेर संसदमा सबैभन्दा ठूलो शक्ति बनेको नेपाली कांग्रेसले सत्ताको दाबी गर्ने अवसर समेत पाएन ।
कांग्रेस नेतृत्वकै गठबन्धनमा रहेर तीनै तहको चुनावमा भाग लिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समीकरण बदल्दै प्रधानमन्त्री भए । अहिले सत्तारुढमध्ये सबैभन्दा ठूलो दल भएकाले एमाले अध्यक्ष केपी शर्मा ओली र उनको निवास बालकोट राष्ट्रिय राजनीतिको केन्द्र बनेको छ ।
तर कांग्रेसका सभापति शेरबहादुर देउवाले हातैमा रहेको सत्ता गुमाएको आरोप खेपिरहेका छन् । सत्ता बागडोरको नेतृत्व गुमाउनुपरेकाले कांग्रेस वृत्तमा निराशा, आक्रोश र आरोप–प्रत्यारोप चलिरहेको छ । यसमा देउवाको सजिलो जवाफ छ, ‘प्रचण्डले धोका दिए ।’
तर नयाँ सत्ता निर्माणको अन्तिम दुई दिनको घटनाक्रम, निर्णय र सहमति हेर्दा भने देउवालाई कसैले धोका दिएको थिएन, बरु उनले दोहोरो अवसर पाएका थिए ।
राष्ट्रपतिमा दाबी नै नगरेका प्रचण्डले दोस्रो कार्यकालको प्रधानमन्त्री बन्न देउवालाई प्रस्ताव गरेका थिए भने ओलीले देउवालाई प्रधानमन्त्री मान्ने वचन दिएका थिए । तर, सातौंपटक प्रधानमन्त्री हुने योग रहेको ज्योतिष प्रचारबाट प्रफुल्लित देउवाले ठूलो दलको जनादेश भएर पनि सत्ता गुमाए ।
यसको मूल कारण देउवामा रहेको अनिर्णय र अलमल देखिन्छ । पूर्वसहमति अनुसार, निर्णय नहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन दिएको एक साताको समय सकिने अन्तिम दिनसम्म पनि कांग्रेस–माओवादीसहितका दलको गठबन्धनमा कुरा मिल्न सकेको थिएन ।
९ पुसको दिउँसो ४ बजे पनि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । तर, देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद टुंगिएन । बरु गठबन्धन टुट्ला, सहमति जुट्ने छाँट देखिएन ।हरहालतमा प्रधानमन्त्री हुने पार्टी सभापति देउवाको चाहना बुझेका कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि त्यसदिन साँझ साढे ७ बजेतिर एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । नेताहरुका अनुसार, निधिलाई देउवाले खटाएका त होइनन्, तर ओलीलाई भेट्दैछन् भन्ने जानकारी चाहिँ उनलाई थियो ।